१० श्रावण २०८१, बिहीबार

छाउपडी प्रथा अन्त्यका लागि स्थानीय तहद्धारा साझा प्रतिबद्धता



डोटी, पुस २२ गते । डोटीका स्थानीय तहहरूले छाउपडी प्रथा अन्त्यका लागि सामूहिक रूपमा अगाडि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयद्धारा आइतबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको समन्वयात्मक बैठकमा स्थानीय तहका प्रमुखहरूले छाउपडी प्रथा बिरुद्ध लाग्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन ।
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार डोटीका बिभिन्न छ वटा स्थानीय तहका प्रमुखहरुले छाउपडी प्रथाका अन्त्यका लागि रणनितिक हिसावले अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका हुन । प्रमुख जिल्ला अधिकारी पौडेलले भने, –“प्रविद्धतासंगै छाउपडी प्रथा निरन्तर रहिरहे छाउ गोठहरु भत्काउने र छाउ बार्नेको बारेमा थाहा पाएमा त्यस्ता व्यक्तिहरूले सरकारबाट पाउने सेवा सुविधा रोक्ने सम्मका कदमहरू चाल्न स्थानीय तहका प्रमुखहरू सहमत हुनु भएको छ ।”

छाउपडी गोठ


जिल्ला समन्वय समिति प्रमुख रामबहादुर ऐर समेत सहभागी रहेको बैठकमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्वी चौकी गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिका र केआई सिंह गाउँपालिकाका प्रमुखको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय डोटीले छाउपडी प्रथाविरुद्ध सक्रिय भएर लाग्न र छाउपडी प्रथा अन्त्यका लागि सहयोग गर्न जिल्लाका सरोकारवाला निकायहरूलाई यस अघि नै पत्राचार गरिसकेको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा छाउपडी प्रथाका कारण घटनाहरू दैनिक रुपमा बढ्न थालेपछि महान्यायाधिवक्ताको कार्यालयले छाउपडी प्रथा विरुद्ध सक्रिय हुन सबै सरकारी निकायहरूलाई निर्देशन दिए बमोजिम सोही अनुसार जिल्ला प्रशासन कार्यालयले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताइएको छ ।
मुलुकी अपराध संहिता, २०७४ ले छाउपडी लगायतका सामाजिक विभेद र भेदभाव तथा अपमान जनक व्यवहारलाई सामाजिक अपराध र कसूरको रूपमा परिभाषित गरी यस्तो कसुर गर्ने गराउनेलाई सजाय तथा जरिवानाको समेत कानूनी व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार