१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य सेवाबारे सञ्चारकर्मीहरूसंग अन्तक्र्रिया



धनगढी/ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशको स्वास्थ्य सेवाको अबस्था सम्बन्धी सोमबार धनगढीमा पत्रकारहरूसंग अन्तरक्रिया गरेको छ ।
निर्देशनालयले सोमबार धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी प्रदेशका सबै नौ जिल्लाका सञ्चारकर्मीहरूलाई सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७५÷०७६ का स्वास्थ्य सेवा कार्यक्रम र उपलब्धी, चुनौति र समस्या तथा आगामी दिनका कार्य र योजनाबारे जानकारी दिएको हो ।
कार्यक्रममा निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सुदूरपश्चिम सबैभन्दा बढि बालविवाह हुने, सबैभन्दा बढि मातृ तथा शिशु मृत्यु हुने प्रदेशका रुपमा रहेको चर्चा गरे ।
निर्देशक डाक्टर अवस्थीले विगतको भन्दा स्वास्थ्य क्षेत्रमा लगानी हुने बजेटको आकार बढे पनि कुल बजेटको अनुपातमा स्वास्थ्य सेवाको क्षेत्रमा राज्यको लगानी प्रतिशत घटेको बताए । उनले भने– विश्वभरी प्रत्येक देशले आफ्नो कुल वार्षिक बजेटको कम्तिमा १० प्रतिशत रकम स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने हुन्छ । तर, नेपालमा पछिल्ला वर्षहरूमा सरकारको कुल बजेटको करिब चार प्रतिशतको हाराहारीमा मात्रै स्वास्थ्य सेवाको क्षेत्रमा लगानी भइरहेको अवस्था छ ।
उनले राज्य संरचना परिवर्तनसंगै स्वास्थ्य क्षेत्रको रिपोर्टिङ र सेवा प्रवाह गर्ने च्यानल पनि तीन तहमा विभाजन हुँदा स्वास्थ्य सेवाको गुणस्तर पनि खस्केको बताए ।
नेपाल स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम नागरिहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन ल्याएको कार्यक्रम भएपनि बीमित, बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाको सहकार्यमा चल्ने भएकाले बुझाई फरक पर्दा सेवा प्रवाहमा समस्या हुने गरेको बताए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले मन्त्रालयले स्वास्य सेवा सुधार गर्ने विभिन्न प्रयत्न गरिरहेको बताए । उनले काम गर्दै जाँदा भएका कमी कमजोरीहरू सच्याउँदै स्वास्थ्य सेवाको स्तर बढाउन मन्त्रालयले विभिन्न नीतिहरूको मस्यौदा बनाइरहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य मनमोहन स्वार, पूर्वउपभापति उमीदप्रसाद वागचन्द, पूर्व उपसभापति चित्राङ्ग थापा र सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले प्रदेशको स्वास्थ्य अवस्था बारे प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार