२० बैशाख २०८१, बिहीबार

फर्किए मार्क्स



काठमाडौँ — दार्शनीक कार्ल मार्क्स मंगलबार साँझ कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको रंगमञ्चमा जीवित फर्किए । उनी आफू र आफ्नो दर्शनमाथि लागेको दाग र गरिएको अपव्याख्यालाई चिर्न आफैं मृत्युलोकबाट पृथ्वी झरेका थिए । आफ्नो जीवनको अन्तिम घडी बिताएको लन्डनको सोहो जान चाहेका मार्क्सलाई अज्ञानतावश नाटकको शोमा झर्छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन भइरहेको नाटक ॅमार्क्स फर्किए’ को एक दृश्य । तस्बिर सौजन्य : महेश पाण्डेजहाँ निर्देशक आफ्नै एक नाटक मञ्चनको तयारी गरिरहेका थिए । मार्क्सको उपस्थितिपछि निर्देशकले नाटक रोकेर मार्क्ससँग वार्तालाप थाल्छन् ।

कार्लमार्क्स द्विशतवार्षिकी समारोह समिति तथा नेपाल अध्ययन केन्द्रको आयोजनामा आरोहण गुरुकुलले गरेको नाटक ‘मार्क्स फर्किए…’ मा मार्क्सको भूमिकामा सुनील पोखरेल देखिएका छन् । झन्डै डेढ घण्टा लामो नाटक विचारप्रधान र बढी संवादपरक छ । नाटकमा निर्देशक बनेका प्रवीण खतिवडाले मार्क्सलाई पुँजीवाद, मार्क्सवाददेखि उनको पारिवारिक अवस्थाका बारेमा बढी सवाल गर्छन् । मार्क्स आफ्ना दर्शनलाई मार्क्सवादी दाबी गर्ने धर्मानन्दहरूले नै अपव्याख्या गरेको आरोप लगाउँछन् । मार्क्सलाई बुझ्न चाहनेका लागि नाटक ‘मार्क्स फर्किए…’ डेढ घण्टाको क्लास रुम हुन सक्छ । नाटकमा मार्क्स अहिलेका कम्युनिस्टप्रति बढि नै आलोचनात्मक देखिएकाले कथित मार्क्सवादीकै लागि पनि नाटक व्यंग्यात्मक लाग्न सक्छ । एक संवादमा मार्क्सले भनेका पनि छन्, ‘हो, म मरिसकें । तर अझै पनि ज्युँदै छु । यतिबेला मेरो नाममा लागेको दाग मेटाउनलाई विशेष अनुरोधमा फेरि आएको हुँ । तपाईंहरूका लागि यो द्वन्द्वात्मक पनि लाग्न सक्छ ।’

प्रज्ञा भवनमा बिहीबारसम्म चल्ने नाटक ‘मार्क्स फर्किए…’ लाई सुनील र प्रवीणले संयुक्त रूपमा निर्देशन गरेका हुन् । लामा संवाद र जटिल विषय प्रसंगका कारण केही कलाकारको अभिनय र संवाद प्रस्तुति पर्याप्त माझिइसकेका छैनन् । खासगरी पत्नि जेन्नीसँगका मार्क्सका प्रसंगले अझै गहिराइ भेटेको छैन । नाटकमा निशा शर्मा, कमलमणि नेपाल, सरस्वती चौधरी, रामभजन कामतलगायतको अभिनय रहेको छ ।

नेपाल अध्ययन केन्द्रका प्रमुख घनश्याम भुसालले मार्क्सवाद अध्ययनका लागि सहयोगार्थ नाटक मञ्चन गरिएको जानकारी दिए । उनले भने, ‘हामी यसलाई फिल्म बनाउन चाहन्थ्यौं । तर सम्भव नभएपछि नाटकका लागि गुरुकुलसँग सहकार्य गरेका हौं ।’ नाटक हेर्न पर्यटनमन्त्री योगेश भट्टराईसहित वामपन्थी नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

#कान्तिपुर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार