१० श्रावण २०८१, बिहीबार

बालविवाह रोकथाममा जुट्दै धार्मिक अगुवाहरू



लम्की/ कैलालीको घोडाघोडी नगरपालिकाका परम्परागत धार्मिक, सांस्कृतिक अगुवाहरू बाल विवाह रोकथाममा अग्रसर भएका छन् ।
मंगलबार सुखडमा भएको “बालविवाह न्युनिकरणमा जनप्रतिनिधि र धार्मिक गुरुहरुको भूमिका” विषयक गोष्ठीमा सहभागी धार्मिक, सांस्कृतिक अगुवाहरूले बालविवाह रोकथाममा एकजुट भइ अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे ।
वर्ल्ड भिजन इन्टरनेशन नेपालकाे अार्थिक सहयाेगमा महिला हिंसा विरूद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जालकाे अायाेजनामा भएकाे कार्यक्रममा विभिन्न धर्म, संस्कृतिको अगुवा तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा थारु समुदायका अगुवा पञ्चराम चौधरीले समाजमा अशिक्षा, गरिबी तथा जनचेतनाको कमीका कारण अहिले पनि बालविवाहले निरन्तरता पाएको चर्चा गरे । उनले भने– त्यसैले हामी भलमन्सा, गुरुवा आदि सबैले थारु समूदायमा बालविवाह कानुनी तथा सामाजिक अपराध हो भनेर सन्देश पुराउनु जरुरी छ । उनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष जेल तथा २० हजार रुपैया जरिवाना हुने कानूनी व्यवस्थाबारे समाजका हरेक व्यक्ति तथा परिवारलाई जानकारी दिनुपर्ने बताए ।
ईसाई धर्मका अगुवा बिष्णुप्रसाद चौधरीले आफूले विवाह गर्न आउने केटा र केटी कानूनअनुसार बालिग हुन वा होइनन् भन्नेमा सोधखोज गर्ने गरेको बताए ।
उनले आफूले बालविवाहले पार्ने शारीरिक तथा मानसिक असरका साथै भविष्यमा सिर्जना हुने कठिनाईबारे समाजमा जानकारी दिन तत्पर रहेको बताए ।
कार्यक्रममा घोडाघोडी नगर प्रमुख ममताप्रसाद चौधरीले अझैं पनि थारु समुदायमा बालविवाह कम नभएको बताए । नगर प्रमुख चौधरीले बाल विवाह रोकथामका लागि समाज, परिवार र अभिभावक सबैको समान दायित्व भएकाले एकजुट भएर अग्रसर हुन आग्रह गरे ।
नगर प्रमुख चौधरीले उमेर नपुगेर विहे गरेको जोडीको विहे दर्ता तथा सिफारिसमा पूर्ण रुपमा बन्देज लगाउन जनप्रतिनिधि सक्रिय हुन आग्रह गरे ।
महिला हिंसा विरूद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जालका जिल्ला अध्यक्ष चक्रपाणी भट्टराईले समाजमा धर्म, संस्कृतिका नाममा विद्यमान विकृती, बिसंगति तथा कुसंस्कार र प्रचलनको अन्त्यको उद्देश्यले देशका २६ जिल्लामा सञ्जाल विस्तार गरिएको जानकारी दिए ।
सञ्जालका राष्ट्रिय अध्यक्ष डाक्टर नमन उपाध्यायले मन्दिर, गुम्बा, चर्च सहित धार्मिक स्थलमा हुने बालविवाह रोकथामका लागि अग्रणी भूमिका निर्वाह गर्न हरेक धर्मसंस्कृतिका अगुवाहरूलार्इ  आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार