१० श्रावण २०८१, बिहीबार

हिमाली भेगमा हिमपात, अन्य ठाउँमा वर्षाको सम्भावना



धनगढी । पश्चिमी न्युन चापीय वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसम बदली हुँदा सुदूरपश्चिम लगायत कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा हिमपात शुरु भएको छ ।


इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु–कस्मिर हुँदै सुदूरपश्चिम हुँदै नेपालमा बुधबार साँझ न्युन चापीय वायु नेपाल प्रवेश गरेको हो । न्युन चापीय वायुका कारण पश्चिमका उच्च पहाडी र हिमाली भू–भागमा हिमपात शुरु भएको हो ।
सुदूरपश्चिमको खप्तड, बडिमालिका, साइपाल, अपिनाप्पा क्षेत्र र कर्णालीको हुम्लामा हिमपात शुरु भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रय निकुञ्जमा बुधबार रातिदेखि हिमपात सुरु भएको हो । बुधबार रातिबाट हिमपात भैरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरु गोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले बताए । ‘बुधबार साँझदेखि नै अत्याधिक चिसो छ,’ उनले भने, ‘बेलाबेला हिमपात पनि भैरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ ।’
उनका अनुसार बुधबार राति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो । यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो । यस वर्ष खप्तडमा दोस्रो पटक हिमपात भएको हो ।
यस प्रणालीका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ । हिमपात र वर्षाको कारण चिसो अत्यधिक बढेको छ ।
जल तथा मौषम अनुमान महाशाखाले बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाएको छ । हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढ्ने भएकाले सचेत रहन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार