२१ मंसिर २०८२, आईतवार

पूर्वाधार विकासका नाममा वातावरणीय क्षती बढ्यो– स्थानीय जनप्रतिनिधिहरू



धनगढी । कैलालीका स्थानीय तहका जनप्रतिनिधिहरूले जिल्लामा पूर्वाधार विकासका नाममा जथाभावी ढंगले भैरहेका कामले वातावरणीय क्षति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।


आईतबार वातावरण विभागले धनगढीमा आयोजना गरेको वातावरण संरक्षण सम्वन्धी अन्तरक्रियामा स्थानीय तहका जनप्रतिनिधीहरूले वातावरण मैत्री पूर्वाधार विकास गर्न ध्यान दिनुपर्ने बताए ।
‘हाम्रा क्रियाकलापले वातावरण प्रदूषणमा बृद्धि भइरेको छ’ जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले भने– तर, हामी वातावरणीय क्षति न्यूनिकरण गर्नेतर्फ अझैं गम्भीर हुनसकेका छैनौं ।
जिसस प्रमुख थापाले खोलानदीजन्य सामग्री उत्खनन् गर्दा कैलाली जिल्लामा डुबान र कटानको समस्या गम्भीर ढंगले बृद्धि भइरहेकोप्रति सचेत हुनुपर्ने बताए । उनले आगामी आर्थिक वर्षदेखि नदीखोलाबाट ढुंगा गिट्टी उत्खनन् गर्ने कार्यलाई कम गर्दै खानी सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जथाभावी ढंगले पूर्वाधार निर्माण काम भइरहदा त्यसले वातावरणमा पार्ने प्रभावबारे ध्यान नदिने मानसिकता चिन्ताजनक रहेको चर्चा गरे । उनले भने– अव्यवस्थित रुपमा भइरहेको शहरीकरणका कारण पनि वातावरणीय ह्रास भइरहेको छ । त्यसैले कुनै पनि विकास निर्माण आयोजनाबाट वातावरण तथा मानव जीवनमा पर्ने प्रभावको समग्र मुल्यांकन गरेर मात्रै विास निर्माण योजनाहरू सञ्चालन गरिनु पर्दछ ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले चुरे तथा भावर क्षेत्रमा मानववस्ती विस्तारका कारण तल्लोतटीय क्षेत्रमा पानीको भण्डार रित्तिन थालेको, चुरेमा पहिरो तथा समथर भागमा बाढी र कटानको समस्या तीब्र बन्दै गएको, खेतीयोग्य जमिन पुरिदै गएको, वस्ती नै विस्थापित हुदै गएका लगायतका समस्या भयानक रुपमा बृद्धि भइरहेको चर्चा गरे ।
सो अवसरमा घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले वातावरणप्रति सचेत तथा सजग रहेका मुलु्कमा बाटो ग्राभेलिङ गर्दा पनि वातावरणीय प्रभाव अध्ययन तथा मूल्यांकन हुने गरेको बताए । नगर प्रमुख चौधरीले भने– हामी पूर्वाधार विकास गर्ने नाममा वातावरणलाई बिगारी रहेका छौं ।
कार्यक्रममा कैलाली जिल्लामा १३ वटै स्थानीय तहका जनप्रतिनिधीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार