१० श्रावण २०८१, बिहीबार

राष्ट्रिय जनगणना २०७८ को तयारीबारे अन्तक्रिया



धनगढी । राष्ट्रिय जनगणना २०७८ को तयारी र आगामी योजनाबारे बुधबार धनगढीमा सञ्चारकर्मीहरूसंग अन्तक्र्रिया भएको छ । “मेरो गणना, मेरो सहभागीता” नारा सहित राष्ट्रिय जनगणना २०७८ सञ्चालन हुदैछ ।


केन्द्रीय तथ्यांक विभाग तथा तथ्यांक कार्यालय महेन्द्रनगरको आयोजनामा भएको कार्यक्रमको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरे ।
अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को तयारी र आगामी योजना सम्बन्धी प्रस्तुति गर्दै केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणनाको प्रशासनिक व्यवस्थापन तथा आर्थिक सेवा सुविधा सम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने प्रक्रिया अगाडी बढेको बताए ।
उनले प्रदेश सरकारहरूसंग अन्तक्र्रिया कार्यक्रम, प्रदेश र स्थानिय तहमा सुझाव संकलनको लागि मस्यौदा प्रश्नावली पठाएको र राष्ट्रिय जनगणना २०७८ को लोगो र नमुना गणना कार्यतालिका सार्वजनिक गरिएको बताए । उनका अनुसार नमुना जनगणना कार्य २०७६ माघ १ गतेदेखि चैत्र मसान्तसम्म सात वटै प्रदेशका १४ जिल्लामा सञ्चालन गरिने छ ।
राष्ट्रिय जनगणना २०७८ को तयारीका क्रममा विभिन्न भाषा तथा जातीय संघसंस्था तथा सरोकारवालाहरुसंग समन्वय, तालीम र सञ्चार तथा प्रचारप्रसार रणनीति मस्यौदा तयार गरिएको छ । राष्ट्रिय जनगणना २०७८ मा ५४ हजार चार सय १३ जना जनशक्ति परिचालन गरिने जनाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्य २०७८ बैशाख २५ देखि जेष्ठ १५ गतेसम्म घर तथा घरपरिवार सूचिकरण गरिने र जेठ २५ देखि असार ८ गतेसम्म मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावलीको कार्य पुरा गरिने छ ।
राष्ट्रिय जनगणना २०७८ सञ्चालनमा चार अर्ब ८६ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ ।
२०५८ र २०६८ सालको राष्ट्रिय जनगणनामा घरपरिवारको विवरण पुर्ण गणना र स्याम्पल दुबै गणना विधी प्रयोग गरिएकोमा २०७८ मा पूर्ण गणना मात्र गरिनेछ । विदेशी कुटनैतिक नियोगमा विद्युतिय गणना (ई–सेन्सस) विधी समेत प्रयोग गरिने जनाइएको छ ।
जनगणना २०७८ का मुख्य बिषयवस्तु पारिवारिक र व्यक्तिगत विवरण लिईने जनाइएको छ । व्यक्तिगत विवरणमा जनसांख्यिक, शैक्षिक अवस्था, भाषा, प्रजनन्, जातजाती, अपांगता, बसाईसराई, नागरिको देश, रोजगारी तथा बेरोजगारी र बैवाहिक अवस्थाको पहिचान गरिने छ ।
कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका उप महानिर्देशक हेमराज रेग्मीले तीनै तहका सरकारका आवश्यकता पुरा गर्नेगरी राष्ट्रिय जनगणना २०७८ लाई अझ बढी उपलब्धीमुलक बनाइने चर्चा गरे ।
उपमहानिर्देशक रेग्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता मापन गर्न राष्ट्रिय जनगणनाको अहम् भूमिका रहेको बताए । उनले स्थानीय तहहरूले आफ्नो प्रयोजनका लागि तथ्यांक संकलन, घरधुरी सर्वेक्षण कार्य गर्न सक्ने भए पनि यस्ता तथ्यांक राष्ट्रिय जनगणनामा समावेश हुननसक्ने बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीले राष्ट्रिय जनगणना र त्यसका नतिजाहरु राज्यको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएको चर्चा गरे ।
प्रमुख सचिव बिडारीले पालिकाहरूले गर्ने तथ्यांक संकलनमा एकरुपता ल्याउन आवश्यक निर्देशिका तर्जुमा गर्नु जरुरी रहेको बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर रावतले राष्ट्रिय जनगणनालाई अझ बढी सफल बनाउन मिडिया र पैरवी रणनीति प्रभावकारी हुनुपर्ने चर्चा गरे ।
उनले जनगणनालाई पूर्ण विश्वसनीय बनाउन विभिन्न भाषाभाषीका गणकको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले राष्ट्रिय जनगणनालाई राष्ट्रको इनसाइक्लोपेडियाका रुपमा स्थापित गरिनु पर्ने बताए । उनले भने– मुलुकको वास्तविक अवस्था र वस्तुस्थिति जान्नका लागि राष्ट्रिय जनगणना नै सबैभन्दा विश्वसनीय माध्यम हो ।
कार्यक्रममा मिडिया विज्ञ चेतन अधिकारीले राष्ट्रिय जनगणनामा मिडियाको भूमिकाबारे प्रस्तुति गरेका थिए । ्
त्यस्तै, नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष जगत साउदले जनगणनामा स्थानीय स्तरमा मिडियाको भूमिकाबारे प्रस्तुति गरेका थिए ।
कार्यक्रममा ठूलो संख्यामा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार