२ जेष्ठ २०८१, बुधबार

डाक्टर केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्कियो



ललित बोहरा/डडेल्धुरा । चिकित्सा शिक्षा सुधारको माग सहित आठ दिनदेखि डडेल्धुरामा आमरण अनसनरत डाक्टर गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ ।


डाक्टर केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयले डाक्टर केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो ।
अनसनका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सरकारले उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, सहमति विपरीत डाक्टर केसीलाई लैजान नदिने भन्दै स्थानीयले बिहानदेखि नै डडेल्धुरामा प्रदर्शन गरेका छन् ।
डाक्टर केसीलाई मनाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले प्रयास गरेका थिए । तर, डाक्टर केसीले उनलाई भेट्न समेत मानेनन् । चारैतिरको अवरोध र डाक्टर केसीले नजाने अडान राखेपछि हेलिकोप्टर रित्तै फिर्किएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
डाक्टर केसीे सरकारले आफ्ना माग पुरा गरे आफू अनसन छोड्न तयार रहेको बताए । उनले भने– सरकारलाई मेरो स्वास्थ्यको चिन्ता लागेको भए मेरो माग पुरा गरे भइहाल्यो नि । यसरी जबरजस्ती किन सार्नुपर्छ । जबरजस्ती सार्ने नाममा दुःख नगर्नुहोस मेरो माग पुरा गर्नुहोस् म अनसन छाड्छु ।
अनसनका कारण डाक्टर केसीको शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुदै गएको भन्दै चिकित्सकहरूले तत्कालै आइसियु भएको अस्पतालमा सार्न सुझाब दिएका छन् । डाक्टर केसीको रक्तचापमा पनि समस्या आएको छ । उनको मिर्गौलमा पनि समस्या देखिन थालेको चिकित्सकले बताएका छन् ।
तर, डा केसी भने आफू डडेल्धुरामा नै मर्न तयार रहेको तर माग पुरा नभएसम्म डडेल्धुरा नछाड्ने अडानमा छन् ।
टायर बालेर चक्काजाम
हेलिकोप्टरबाट डाक्टर केसीलाई काठमाडौ लगिदै छ भन्ने खबर फैलिएपछि डडेल्धुरामा सोमबार बिहानै चक्काजाम शुरु भयो । बिहान ८ बजेपछिदेखि १२ बजेसम्म यातायात ठप्प पारियो ।

डडेल्धुरा अस्पतालदेखि करिब तीन सय मिटर यता तुफानडाडा चोकमा टायर बालेर चक्काजाम गरिएको थियो । लगभग चार घण्टाको चक्काजाम पछि यातायात संचालनमा आयो।

डाक्टर केसीको अडान, बोलाइयो सर्वदलीय बैठक
अनशनरत डाक्टर केसीले काठमाडौं जान नमानेपछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजप्रसाद पौडलेले सर्वदलीय सर्वपक्षिय बैठक आह्वान गरे । सोमबार दिउसो जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सर्वदलीय सर्वपक्षिय बैठक बस्यो ।
स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, नागरिक समाज, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघलगायको उपस्थितिमा बैठक बस्यो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पौडेलले डाक्टर केसीलाई लिनको लागि हेलिकोप्टर आएको जानकारी गराए ।
जिल्ला प्रशासन कार्यालयको पहलमा बोलाइएको सर्वपक्षीय बैठकले “डाक्टर केसीलाई इच्छाविपरीत लान नमिल्ने’ भन्दै उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकाल्यो ।
सरकारले आठ दिन हुदा समेत कुनै प्रतिक्रिया नजाएकोप्रति बैठकमा सहभागिहरूले आक्रोश व्यक्त गरेका थिए ।
बैठकपछि डाक्टर केसीलाई भेट्न प्रमुख जिल्ला अधिकारी पौडेल सुरक्षा प्रमुखसहित अनसनस्थल डडेल्धुरा अस्पताल पुगे । “बाहिर सिडीयो साप आउन भा छ” भन्ने खबर भित्र डाक्टर केसीलाई दिइयो । उनले नभेट्ने भनेपछि प्रमुख जिल्ला अधिकारी फिर्ता भए ।

बैठकको बीचैमा मुख्यमन्त्रीको फोन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फोन मार्फत सर्वदलीय बैठकमा सम्बोधन गरे । उनले डाक्टर केसीले उठाएका मागप्रति आफू सकारात्मक रहेको बताए ।

उनले डाक्टर केसीको स्वास्थ्य सबैभन्दा मुख्य कुरा भएकाले सहज वातावरणमा उनलाई काठमाडौं पठाउन सहयोग गरिदिन सर्वदलीय बैठकलाई अनुरोध गरे । उनले उठाएका माग सम्बोधनका लागि प्रदेश सरकारले पहल गरिरहेको समेत उनले बताए ।
“डाक्टर केसीले सुदूरपश्चिका समेत मागहरू उठाएका छन् । उहाका मागहरू सकारात्मक छन्’ फोनमार्फत सर्वदलीय सर्वपक्षीय बैठकमा मुख्यमन्त्रीले भने– उहाका मागहरू सम्बोधनका लागि सम्बन्धित मन्त्रालय, प्रधानमन्त्रीज्यूसंग पनि कुरा गर्नेछु ।
मुख्यमन्त्रीले पनि फोनवार्ता गर्ने खोजे पनि डाक्टर केसीले मानेनु । डाक्टर केसीको भनाई उधृत गर्दै डाक्टर तोशिमा कार्कीले भनिन्– मुख्यमन्त्रीले हाम्रो माग पुरा गर्नै सक्दैनन्, किन कुरा गर्ने ?

डाक्टर केसीका माग पुरा गर– चिकित्सक संघ
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश कमिटिले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका अभियन्ता डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकारसँग माग गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीको जीवन रक्षा गर्न वार्ता गरी समस्याको समाधानमा पहल गर्न समेत अनुरोध गरेको छ ।
विज्ञप्तीमा सरकारले डाक्टर केसी र संघस“ग विगतमा गरेका सम्झौता कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको पनि स्मरण गराइएको छ ।
‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तह सम्म पु¥याई, सर्वसाधारण नागरिकहरूको सहज पहुँचका निम्ति पटक–पटक शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट नेपाल सरकार तथा नीति निर्माण तहमा रहेकाहरूलाई सजग गराउ“दै आएका डाक्टर केसी र नेपाल चिकित्सक संघबीच बिगतमा भएका सम्झौताहरूको कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व भएको संघको ठहर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा डाक्टर केसीको सुरक्षित सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार