१० श्रावण २०८१, बिहीबार

बझाङकाे कालंगा हाइड्रोकाे सुरुङ भत्किँदा चार मजदुर बेपत्ता



बझाङ । बुङ्गल नगरपालिका-१ स्थित कालंगा हाइड्रोकाे काम गर्ने क्रममा सुरुङ भत्किँदा चार जना मजदुर थुनिएका छन् ।
आइतबार दिउँसाे करिब ३ बजे उनीहरु सुरूङभित्र छिरेका थिए । सुरूमा सुरुङभित्र ६ जना छिरे पनि दुई मजदुर भने शास फेर्न गार्हो भएको भन्दै तत्कालै निस्किएका थिए । तर, चार जना भने अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।

काम गर्ने क्रममा सुरुङ भत्किएर चारै जना भित्र थुनिएको र उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् ।

घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् । सुरुङ भत्किएकाले उद्धार गर्न कठिनाइ भएको र काठमाडौंबाट उद्धार टोलीलाई बोलाइएको डीएसपी बमले बताए ।

७५ मेगावाट क्षमताकाे कालंगा हाइड्राेकाे उक्त सुरुङ तीन सय  मिटर लामाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार