४ जेष्ठ २०८१, शुक्रबार

गेटा आँखा अस्पतालको सामाजिक परीक्षण



धनगढी । गेटा आँखा अस्पतालको शनिबार सामाजिक परीक्षण कार्यक्रम भएको छ । सामाजिक परीक्षण कार्यक्रममा अस्पतालले प्रवाह गरिरहेको सेवा, प्रगति विवरण, समस्या तथा चुनौतिबारे चर्चा भएको थियो ।


सामाजिक परीक्षण कार्यक्रममा धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिकाका जनप्रतिनिधि, नेपाल नेत्रज्योति संघका पदाधिकारी तथा सदस्य, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले धनगढीलाई मोतिविन्दुरहित नगर बनाउने प्रयास भइरहेको चर्चा गरे ।
नगर प्रमुख वडले उपमहानगरपालिकाभित्र सञ्चालन गरेको आँखा शिविरमा १९ सय बढीले सेवा लिएको बताए । उनले अझैं पनि आँखाको सुरक्षा तथा हेरचाहका प्रति मानिसमा जागरुकता आउन नसकेको बताए ।
उनले गेटा आँखा अस्पताल सञ्चालनमा तीनै तहका सरकारबीच केही अन्योल रहेको बताए । उनले भने– यो आँखा अस्पताल नेपाल नेत्रज्योती संघ मार्फत सञ्चालन भइरहेको छ । तर, कुन तहको सरकारले कति बजेट दिने भन्ने अझैं स्पष्ट छैन । उनले गेटा आँखा अस्पताललाई सबैको साझा सम्पत्ति भएकाले यसको सञ्चालन तथा आर्थिक प्रबन्ध गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले गेटा आँखा अस्पतालका लागि तीनै तहका सरकारले बजेट अनुदान दिनका लागि स्पष्ट व्यवस्था गरिनुपर्ने बताइन् ।
कार्यक्रम अस्पताल सञ्चालन समितिका अध्यक्ष दिव्यप्रसाद पन्तको अध्यक्षतामा भएको थियो ।
सामाजिक परीक्षण कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुरेशराज पन्तले अस्पतालको प्रगति विवरण, समस्या, चुनौति लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार