१० श्रावण २०८१, बिहीबार

छठ पर्व : मोहना नदी झकिझकाउ



धनगढी । छठ पर्वमा पुजा गर्नका लागि मोहना नदीमा सजाउने काम पुरा भएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वलाई धनगढीमा पनि धुमधामका साथ मनाइने गरिन्छ । बिहिबारबाट शुरु भएको छठ पर्व तेश्रो दिन आज (शनिबार) अस्ताउँदो र चौथो दिन भोली (आईतबार) उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरिन्छ ।


श्री छठ पुजा सेवा समाजले शुक्रबार पत्रकार सम्मेलन गर्दै बिगतमा सामान्य तरिकाले मनाइने छठ पर्व हाल धुमधामका साथ मनाइने गरिएको जानकारी दिएको छ ।
‘पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले अन्यत्र पनि लोकप्रिय हु“दै गएको छ’ समाजका अध्यक्ष सन्तोष मण्डलले भने । धनगढीको मोहना नदी किनारा छठका लागी झकिझकाउ सिंगारिएको छ भने ठाउँठाउँमा प्रवेशद्वार बनाइएको छ ।
बिगतमा ३५ हजार लगानी लगाएर मनाउन शुरु गरिएको छठ पर्व हाल ६÷७ लाखभन्दा बढी लागत पुगेको अध्यक्ष मण्डलले बताए ।
यस बर्ष पुजा गर्नका लागी मोहना घाटमा दुई सय स्टल बनाइएको उनले जानकारी दिए । करिब ५० हजार दर्शनार्थी पुजामा सहभागी हुने अपेक्षा लिइएको उनले बताए । बिस्तारै पहाडी मुलका मानिसको समेत पुजामा सहभागीता बढेको उनले बताए ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने चलन शुरु भएको छठ पुजा सेवा समाजका अध्यक्ष मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार