१० श्रावण २०८१, बिहीबार

बैतडीमा डोजर आतंकमा बृद्धि



बैतडी । सोमवार दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई घाइते बनाएको घटना सेलाउन नपाउदै बिहीबार मैलौली नगरपालिकामा स्काभेटरको ठक्करबाट ५५ वर्षीय शुक्रसिंह पुजाराको ज्यान गएको छ ।

बिहीबार बिहान मेलौली नगरपालिका वडा नम्बर ५ पेल्यामा सडक खन्न गएको स्काभेटरको ठक्करबाट वडा नम्बर ५ का पुजाराको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
डोजरको ठक्करबाट बैतडीमा मानिसको ज्यान गएको यो चौथो घटना हो । २०७४ साल फागुन ४ गते पुर्चौडी नगरपालिका वडा नम्बर ५ को बित्थड–कुवाकोट सडकखण्डमा स्काभेटर दुर्घटनामा भीमदत्त नगरपालिका वडा नम्बर ९ कञ्चनपुरका ३८ वर्षीय चालक रामबहादुर रावलको मृत्यु भएको थियो ।
सोही वर्ष फागुन २६ गते दशरथचन्द नगरपालिका वडा नम्बर २ को हल्लेक–कुणीभिटा ग्रामीण सडक निर्माण गर्ने क्रममा स्काभेटरमा च्यापिएर सहचालक बा“के, कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठको मृत्यु भएको थियो ।
त्यस्तै गत वर्ष सडक खन्न क्रममा पहिरो खसेर पूर्चौडी नगरपालिका वडा नम्बर १, भकुडाका २२ वर्षीय दिलबहादुर गडालको ज्यान गएको थियो ।

बैतडीममा सडक निर्माणका क्रममा डोजरको अन्धाधुन्ध प्रयोगका कारण पहिरोमो जोखिम पनि बढेको छ ।
गत साउन २६ पहिरोका कारण सुर्नया गाउपालिका वडा नम्बर ८ ढोल्यामा पांच परिवारको घर खेत पुरिएको थियो ।
पहिरो खस्ने ठाउमा सडक खनिएपछि मेलौली नगरपालिका वडा नम्बर ८, बिशालपुरका चार सय ४२ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
त्यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ८, मल्लादेहीमा पनि पहिरोको त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार