१२ श्रावण २०८१, शनिबार

टीकापुर घटनाबारे उच्च अदातलको सुनुवाई स्थगित



धनगढी । टीकापुर घटनाको विषयमा उच्च अदालत दिपायलमा आइतबारदेखि सुनुवाई शुरु गर्न चढेको पेशी स्थगित भएको छ ।


कैलाली जिल्ला अदालतले टीकापुर घटनाको विषयमा दोषी ठहर्‍याएको चित्त नबुझेपछि अभियुक्तहरुले उच्च अदालतमा गरेको रिटमाथि बहस शुरु गर्न तोकिएको पेशी स्थगित भएको हो । जिल्ला अदालतबाट दोषी ठहरिएका नावालक करण चौधरीको तर्फबाट रिट नपरेको हुनाले उनलाई म्याद पुगे÷नपुगेको विषयमा बुझ्नका लागि आइतबारको पेशी स्थगित गरिएको छ ।
पुनरावेदकहरुका अधिवक्ता गम्भीरसिंह ऐरले उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की र नसरुल्लाह अन्सारीको इजलाशले सरकारी वकिललाई करण चौधरीलाई म्याद पुगे नपुगेको विवरण पेश गर्न आदेश दिएको बताए । उनले करणको विवरण पेश भएपछि मंसिर २ गतेका लागि साधारण तारेख तोकिएको बताए । त्यसपछि मात्रै अर्को पेशी तोकिने छ ।
जिल्ला अदालतबाट सजाय तोकिएका मध्ये सबैले उच्च अदालतमा रिट दर्ता गरेको भएपनि करण चौधरीको तर्फबाट रिट दर्ता गरिएको छैन । सरकारी वकिल कार्यालयको तर्फबाट उच्च अदालतमा भने दोषी ठहर गरिएका सबै २७ जना विरुद्ध रिट दर्ता गरिएको छ ।
कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते टीकापुर घटनामा संलग्न मध्ये रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । १२ जनालाई अदालतले तीन वर्ष जेल सजाय र तीन जनालाई सफाई दिएको फैसला गरेको थियो ।
सरकारी वकिलले सर्वस्वसहित जन्मकैदको माग गर्दै दायर गरेको मुद्दामा जिल्ला अदालत कैलालीले जन्मकैद तथा तीन वर्षको जेल सजाय सुनाएको हो । जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिलको कार्यालयले सजाय थोरै भएको भन्दै र सजाय पाएकाहरुले राजनीतिक घटना भएकाले आफूहरुलाई सजाय हुन नहुने भन्दै उच्च अदालत दीपायलमा पुनरावेदन गरेका थिए ।
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार