२२ बैशाख २०८१, शनिबार

विविध कार्यक्रमसहित कण्डम दिवस मनाइयो



धनगढी । विभिन्न कार्यक्रमसहित शनिबार कैलालीसहित देशभरी २५ औं राष्ट्रिय कण्डम दिवस मनाईएको छ ।


दिवसका अवसरमा कैलाली स्वास्थ्य कार्यालय, नेपाल परिवार नियोजन संघ, एएचएफ नेपालसहित विभिन्न संघसंस्था संयूक्त आयोजनामा धनगढीको त्रिनगर सीमानाकाबाट आवतजावत गर्ने व्यक्तिको रगत परीक्षण गरिएको थियो ।
एएचएफ नेपालका माधव पन्तका अनुसार शनिबार कैलालीको धनगढी र टीकापुरको खक्रौला नाकामा आवतजावत गर्ने एक सय ४५ जनाको रगत परिक्षण गरिएको थियो । सो अवसरमा धनगढी नाकामा पा“च हजार चार सय ७२, गोदावरी बसपार्कमा तीन हजार र टीकापुर नाकामा पाँच हजार तीन सय कण्डम वितरण वितरण गरिएको थियो । त्यस्तै, एचआईभी, एड्स रोकथामका लागि जनचेतनामूलक पर्चापम्पलेट पनि वितरण गरिएको थियो ।
‘दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको दिवसको स्वास्थ्य कार्यालय कैलालीका लालबहादुर धामीले उद्घाटन गरे । उनले पछिल्ला वर्षहरूमा एचआईभीको संक्रमण दर कम भइरहेको बताए । उनले एचआईभी पीडितको संख्या घटाउन सुरक्षित यौन सम्पर्कका लागि कण्डम लगायतका अस्थायी साधनको प्रयोग गर्न जरुरी रहेको बताए ।
उनले कैलाली सहित सुदूरपश्चिममा अझै पनि कण्डमको प्रयोग गर्न भन्दा लाज मान्ने गरिएको पाइएको बताए । ‘कण्डम प्रयोग गर्नुपर्छ भन्दा मान्छे त्यो लिन पनि लाज मान्छन’ उनले भने– ‘जसले गर्दा अझै पनि कुनै न कुनै कारणले एचआईभी संक्रमित फेला गर्ने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार