१० श्रावण २०८१, बिहीबार

निर्माण व्यवसायी संगठनको प्रदेश भेला



धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी संगठन (सियोन) सुदूरपश्चिम प्रदेशको एकता भेला तथा तदर्थ समिति गठन भएको छ ।


भेलाको नेकपाका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले उद्घाटन गरे । भेला सुदूरपश्चिम प्रदेश इन्चार्ज वीरबहादुर बुढाथोकीको अध्यक्षतामा भएको थियो ।  भेलामा नेता रावलले सरकारले व्यवसायीहरूसंगको छलफलबाट निर्माणमैत्री वातावरण बनाउनुपर्ने बताए ।
उनले भौतिक निर्माणमा साधन स्रोतको अधिकतम प्रयोग गरि प्रभावकारी र गुणस्तरिय काम आवश्यक रहेको बताए । ‘निर्माण ब्यवसायी देश विकासको मेरुदण्ड हुन्’ उनले भने– निर्माण व्यवसायीहरूले इमान्दार, लगनशिल भएर गुणस्तरिय र समयमा काम गर्ने बानीको विकास गर्नुपर्छ ।
नेकपाका प्रदेश इन्चार्ज कर्णबहादुर थापाले निर्माण क्षेत्रको विकृति र विसंगतिको समाधानको उपाय व्यवसायीहरूबाटै आउनुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले प्रदेश सरकारले निर्माण व्यवसायीका समस्यालाई बुझेको बताए । उनले भने– प्रदेश सरकार कानुन निर्माण गरेर प्रदेशको भौतिक निर्माण कार्यलाई तिव्र गतिमा अघि बढाउने तयारीमा भए पनि संघिय सरकारले कानुन निर्माण नगर्दा समस्या भएको छ ।
निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष टेकबहादुर सेट्टीले समयमै भुक्तानी नपाउँदा ठेक्का सम्झौता गरेको योजनाको काम पुरा गर्न समस्या भएको बताए । उनले भने– सरकारले सुखी नेपाली समृद्धि नेपालको नारा लिएको छ, तर त्यस अनुसारको काम गर्न सकेको छैन् ।
नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य विरबहादुर साउ“दले स्वागत गरेको कार्यक्रमको सञ्चालन चेतराज जोशीले गरेका थिए ।
कार्यक्रममा सियोनका केन्द्रीय प्रतिनिधी, कार्यक्रममा नेकपा प्रदेश सचिव नेपबहादुर चौधरी, निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष, नेकपा पार्टीका भातृ संगठनका प्रमुख तथा प्रतिनिधी, निर्माण व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
यसैबीच, भेलाबाट नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन भएका छन । त्यस्तै, सहसंयोजकमा देवबहादुर चन्द र पूर्ण अधिकारीलाई चयन गरेको छ ।
संगठनको सचिवमा दानबहादुर साउँद, सहसचिवमा कमलेश कपाडी, कोषाध्यक्षमा शक्ति पन्त बिष्ट र सहकोषाध्यक्षमा अदल चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै, सदस्यमा भानुभक्त जोशी, रामदत्त जोशी, दशरथ जोशी, बमबहादुर खड्का, खगेन्द्र रावत, मानबहादुर नाथ, केशव साउँद, शेरबहादुर बोहोरा, जयन्द्रसिंह यतवाल, सुधिरप्रसाद भट्ट, पदम भण्डारी, नयन बम, योगेन्द्र चन्द, दिपेन्द्र कुँवर, चन्द्र कार्की चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार