४ जेष्ठ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस



धनगढी । अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ ।


‘अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभुत सेवा प्रवाह रोकिनबाट जोगाऔं’ भन्ने नाराका साथ सप्ताहभर विभिन्न कार्यक्रम गरिने जनाइएको छ ।
दिवसको पहिलो दिन सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कैलाली जिल्ला प्रशासन कार्यालय तथा धनगढी उपमहानगरपालिकाको संयूक्त आयोजनामा आईतबार धनगढीको ट्राफिक चौराहदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको थियो ।
प्रभातफेरीमा प्रदेशका विभिन्न मन्त्रालयका सचिव, कैलाली प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, सरकारी कर्मचारी, विभिन्न संघ÷संस्थाका प्रतिनिधी, सञ्चारकर्मी, विद्यार्थी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरीको समापनका अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले विश्वभरी मानवीय र प्राकृतिक कारणले विपद् निम्तिने गरेको बताए । उनले मानवीय कमजोरी, हेल्चक्राई लगायतका कारणले पनि विपद बढ्ने गरेको चर्चा गरे । प्रजिअ बोहराले भने– प्राकृतिक तथा मानवीय कारणले निम्तिने विपदबाट हुने सम्भावित जोखिम न्यूनिकरण गर्न पूर्व सावधानी अपनाईनुपर्छ ।
उनले सडक संरचना, सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था भवन निर्माण, टेलिफोन, विद्युत, सञ्चारको विस्तार लगायतका भौतिक संरचना निर्माण गर्दा विपद्लाई दृष्टिगत नगर्दा जोखिम बढ्ने गरेको बताए ।
दिवसलाई सप्ताहव्यापी सञ्चालन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कैलाली जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई समन्वय तथा नेतृत्वको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार