३ जेष्ठ २०८१, बिहीबार

छोरीलाई विष खुवाएर बुवाद्वारा आत्महत्या



धनगढी । कैलालीको गौरिगंगा नगरपालिका अण्डैयामा एक बुबाले आफ्नी अवोध छोरीलाई विष सेवन गराएर आत्महत्या गरेका छन् । विष खुवाइएका कारण उनकी छोरीको पनि मृत्यु भएको छ ।


गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका २५ वर्षीय रामबहादुर कलेलले आफ्नी तीन वर्षीया छोरी अनुष्कालाई विष खुवाएर आइतबार राति आफूले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रारम्भीक अनुसन्धानमा रामबहादुरले आफ्नी छोरी अनुष्कालाई सल्फास नामक बिषादी खुवाएर आफूले आत्महत्या गरेको खुल्न आएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।
रामबहादुरकी श्रीमती सरिताले गत वैशाख १६ गते झुण्डिएर आत्महत्या गरेको र सरिताका माइती पक्षले रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेका थिए ।
आत्महत्या दुरुत्साहनको मुद्दापछि रामबहादुरलाई कैलाली जिल्ला अदालतले गत जेठ २६ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको गत साउन २२ गतेको इजलासले रामबहादुर निर्दोष ठहर गरेको थियो ।
अदालतबाट सफाइ पाएर छुटेको डेढ महिनापछि उनले छोरीलाई विष खुवाएर आफूले आत्महत्या गरेकोले घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता बस्नेतले बताए । रामबहादुर र उनकी छोरीको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
अपराध संहितामा लागु भएपछि कैलालीमा आत्महत्या दुरुत्साहन गरेका उजुरी पर्ने क्रम बढ्दै गएको छ ।
एक बर्षको अवधीमा कैलालीमा आत्महत्या दुरुत्साहनका १४ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने आठ जना धरौटीमा रिहा भएका छन् ।
त्यस्तै, दुई वटा मुद्दामा अनुसन्धान जारी रहेको र एकजना साधारण तारेखमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार