५ जेष्ठ २०८१, शनिबार

आन्तरिक मामिला मन्त्रीद्वारा सीमा निरीक्षण



पुनर्वास । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले आइतबार कञ्चनपुरको पुनर्वास क्षेत्रको निरीक्षण गरेका छन् ।
मन्त्री शाहले आइतबार कञ्चनपुरको पुनर्वास नगरपालिकासंग जोडिएको नेपाल भारत सीमाना र जंगली जनावरले खेतीमा नोक्सान पु¥याएको क्षेत्र निरीक्षण गरेका हुन् ।
निरीक्षण टोलीमा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, पुनर्वास नगरपालिका प्रमुख जीवन थापा लगायतको सहभागिता थियो ।
मन्त्री शाहले नेपाल भारतको सीमा विवाद रहेको आनन्दबजार क्षेत्र, प्याराताल लगायतको निरीक्षण गरेका थिए । उनले सीमा विवादका कारण विद्युतीय तारवार गर्न नपाउँदा हात्ती, बँदेल लगायतका जंगली जनावरले बाली नोक्सान गरेको क्षेत्र समेत अवलोकन गरेका थिए ।
मन्त्री शाह तथा अन्यले भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट मृत्यु भएका शहीद गोविन्द गौतमको शालिकमा पुष्प अर्पण गरेका थिए ।
सो क्रममा मन्त्री शाहले सीमा विवाद समाधान गर्न संघीय सरकारलाई आग्रह गरिने बताए । उनले जंगली जनावरका कारण बालीनाली क्षति भएका परिवारलाई कानुन बनाएर क्षतिपूर्ति दिइने बताए ।
पुनर्वासका नगरप्रमुख थापाले नगरपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाका किसानले गत वर्ष गहुँ बालीको बेला असिनाका कारण क्षति बेहार्नु परेका कारण यस वर्ष किसानलाई सहुलियतमा गहुँको वीऊ उपलब्ध गराइदिन अनुरोध गरे ।
त्यस्तै, स्थानीयहरुले सीमा विवाद तत्काल समाधान गराई विद्युतीय तारवार विस्तार गरी खेती गर्ने वातावरण मिलादिन प्रदेश सरकारसंग माग गरेका थिए । जंगली जनावरको आक्रमणबाट पुनर्वास क्षेत्रमा चार वर्षको अवधिमा तीन जनाको मृत्यु भएको सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिनेश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार