२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा स्क्रबटाइफसको प्रकोप जारी



धनगढी । सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसको प्रकोप जारी रहेको छ । स्क्रबटाइफसबाट हालसम्म प्रदेशमा एक जना महिला र एक पुरुष गरी दुई जनाको ज्यान गइसकेको छ । भने एक सय ४४ जना संक्रमित भएका छन् ।


स्क्रब टाइफसबाट धनगढी गेटाका १५ वर्षीय भरत खाती र बझाङ जिल्लाको वित्थडचिरका २३ वर्षीया सरस्वती सिंहको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
प्रदेशको अछाम र बाजुरा जिल्लाबाहेक अन्य सात वटा जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । साउनयता सुदूरपश्चिम प्रदेशमा एक सय ४४ जना स्क्रब टाइफसबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।
प्रदेशमा सबैभन्दा बढी डडेल्धुरा जिल्लामा ५४ जना स्क्रब टाइफसका बिरामी रहेका छन् । त्यस्तै कैलालीमा ४४, बैतडीमा २४, कञ्चनपुरमा ९, डोटीमा ६, बझाङमा ५ र दार्चुलामा दुई जनामा संक्रमण देखिएको सुचना अधिकारी खड्काले जानकारी दिए ।
मुसामा देखिने किर्नाजस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने नसर्ने चिकित्सक बताउछन् ।
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखापर्ने चिकित्सकको भनाई छ।
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, समयै उपचार नभए कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुनसक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।
यो रोगबाट बच्न खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार