२२ बैशाख २०८१, शनिबार

असन्तुष्ट पक्षले कालो दिनका रुपमा मनाए



धनगढी । संविधान जारी भएको चार वर्षको अवसरमा असन्तुष्ट पक्षले कालो दिनका रुपमा मनाएको छ ।


नेपाल आदिवासी जनजाति महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयूक्त पहलमा धनगढीको पार्कमोडमा विरोध कार्यक्रम गरिएको थियो ।
असन्तुष्ट पक्षले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध कार्यक्रम गर्ने बनाएका थिए । तर, प्रशासनले अनुमति नदिएपछि उनीहरुले पार्कमोड अगाडि विरोध कार्यक्रम गरेका हुन् ।
संविधान जारी भएको चौथो वर्ष असन्तुष्ट पक्षले असोज ३ कालो दिन भन्दै संविधान जलाए ।
संविधान निर्माणकै क्रमबाट आन्दोलनमा होमिएका थरुहट पक्षधरले संविधानको धारा ३८, ४२, १८, ५६, र २७४ को अनुसूची ४ जलाएका थिए ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधव थारुले अपुरो संविधान कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने भन्दै थारु, आदिबासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टी नहुन्जेल सम्म संविधानलाई जलाई राख्ने बताए ।
उनले अनूसुचि ४ मा सिमांकनको कुरा उल्लेख भएकोले अखण्ड सुदूरपश्चिमको सीमांकन अबैज्ञानिक भएको अनुसूचि जलाएको समेत बताए । २०७२ साल असोज ३ गते रक्ताम्य संविधान जारी भएको संविधानको पक्रिया नै गलत रहेको बताउदै सरकारले संविधान संशोधन गरेर ‘सबैको संविधान मेरो संविधान’ बनाई दिन माग समेत गरेका थिए ।
त्यसै गरि पूर्व सभासद कृष्ण थारुले संविधान संशोधन गरि सबै जनताको अपनत्व हुने संविधान बनाउन आग्रह गरे । ‘विगतमा एउटा श्रीपेच भएको राजाले देश चल्थ्यो आज यो संविधानले १०० औं श्रीपेच लगाएको राजा जन्माएको छ, यस्तो संविधान हामीलाई चाहिदैन’ भन्दै आक्रोश व्यक्त गरे ।
उनले थारु, मधेसी, दलित लगायतका जनजाति समुदायका नागरिकहरूको हक अधिकार ग्यारेन्टी भएको संविधान हुनुपर्छ, न कि राज्यले एउटा पक्षलाई पक्षपोषण र अर्को पक्षलाई दमन गर्ने संविधान कुनैपनि हालतमा स्वीकार नहुने बताए । उनले थारुहरु आन्दोलनमै होमिएको कारण माग मुद्दा पुरा नहुन्जेल असोज तीन कालो दिन मनाउन नछोड्ने बताए ।
सरकारले मन्त्रालय, सरकारी कार्यालय, मन्त्री तथा कर्मचारी निवासमा राती दिप प्रज्वलन गरेर दिपावली मनाइरह“दा असन्तुष्ट पक्षले भने सा“झ घरको बत्ति बन्द राखेर विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार