२ जेष्ठ २०८१, बुधबार

परिवार दिवस मनाइयो



धनगढी । कैलालीसहित देशभरी बुधबार विभिन्न कार्यक्रमसहित छैठौं परिवार योजना दिवस मनाइएको छ ।


‘किशोरकिशोरीको सहभागिता, परिवार योजनाको सुनिश्चितता’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, नेपाल परिवार नियोजन संघ लगायतका निकाय र संघसंस्थाको आयोजनामा विभिन्न कार्यक्रम भएका थिए ।
दिवसका अवसरमा स्वास्थ्य कार्यालय कैलाली, नेपाल परिवार नियोजन संघ लगायत संघसंस्थाको आयोजनामा बुधबार धनगढीमा प्रभात फेरी निकालियो ।
स्वास्थ्य कार्यालय कैलालीको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी रातोपुल हु“दै उत्तरबेहडीदेखि प्रदेश स्वास्थ्य तालिम केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा सामाजिक विकास मन्त्रालयका कर्मचारी, स्वास्थ्य कार्यालयका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधी, पद्मा नर्सिङ कलेज, शैलेश्वरी फारवेष्ट नर्सिङ कलेज, फारवेष्ट कलेज, सामुदायिक एकिकृत विकास केन्द्र लगायतका शैक्षिक संस्थाका विद्यार्थी तथा शिक्षक, शिक्षिकाको सहभागिता रहेको थियो ।
कोणसभामा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सुखी परिवारका लागि परिवार योजना आवश्यक रहेको चर्चा गरे । उनले किशोर किशोरीबाटै परिवार योजनाको विकास गर्नु आवश्यक रहेको बताए । ‘अहिले असुरक्षित गर्भपतन, बालविवाह जस्ता समाजमा चुनौति बनेका छन्” उनले भने– यसको न्यूनिकरणका लागि समाजमा जागरुकता आवश्यक छ । उनले परिवार योजनाबाट नै स्वस्थ तथा सुखी परिवारको कल्पना साकार हुने बताए ।
स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य अधिकृत महेश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्तले परिवार योजनाका बारेमा जानकारी गराएका थिए ।
परिवार नियोजन दिवसकै अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा बुधबार नै अन्तक्र्रिया कार्यक्रम भएको छ । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर बिष्टको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले प्रदेशमा परिवार नियोजनको साधन प्रयोगकर्ता दर ४८ प्रतिशत रहेको जानकारी दिए । उनले परिवार नियोजनको साधन प्रयोगदर प्रदेशका सबैभन्दा बढी कैलाली जिल्लामा ४६ प्रतिशत रहेको बताए । उनका अनुसार अझै पनि प्रदेशमा २१ प्रतिशत परिवार नियोजनका साधन आपुर्ति हुन सकेको छैन ।
उनले सरकारले परिवार योजना कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । उनले प्रदेश सरकारले परिवार योजना कार्यक्रममा बजेट बृद्धि गर्दै अघि बढ्नुपर्ने पनि सुझाव दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशको कुल बजेटको तीन दशमलव नौ प्रतिशतमात्र परिवार योजनामा बजेट विनियोजन गरिएको छ । उनले यस कार्यक्रममा सात प्रतिशत बजेट विनियोजन गर्न सुझाव दिए ।
उनले प्रदेशमा पा“च वटा अस्थायी र दुई वटा स्थायी परिवार नियोजनका साधनको सेवामा नियमित उपलब्धता हुने व्यवस्था गरिनुपर्ने पनि बताए । महाशाखा प्रमुख कार्कीले परिवार नियोजनका साधनको आपुर्ति व्यवस्थापन नियमित गर्नुपर्ने, संघ तथा स्थानीय तहसंग समन्वय गरेर अघि बढ्नुपर्ने, कर्मचारीहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा परिवार नियोजनका विज्ञ डाक्टर राजेन्द्र गुरुङले परिवार नियोजनको साधनको प्रयोगको फाईदा, अवस्था, चुनौति र आगामी दिनमा गर्नुपर्ने लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार