५ जेष्ठ २०८१, शनिबार

उमेरले छेकेन पढ्ने रहर



ललित जाग्री/सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडका लालबहादुर सुनार र गणेश सुनारको उमेर ४३ वर्ष पुग्यो । अधवैंशे उमेरका दुवै जनालाई अहिले पढ्ने रहर जागेको छ । सानैमा विहे भएका कारण बीचैमा पढाई छोडेका दुवै जना अहिले घोडाघोडी नगरपालिका वडा नम्बर ८, तारानगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा आठमा भर्ना भएका छन् ।

उनीहरू दुवै जनाले सात कक्षा उत्तीर्ण भएपछि स्कुल छोडेका थिए । विद्यालय भर्ना भएपछि अनुहारमा खुसीको भावसहित लालबहादुरले भने– स्कुल पढ्दै गर्दा सानै उमेरमा विहे भयो । अनि विद्यालय छोडे । परिवारको आर्थिक अवस्था कमजोर थियो । मैले नै घरव्यवहार सम्हाल्नुपर्‍यो । छोराछोरी जन्मिए, तर मेरो पढ्ने धोको समाप्त भएन । त्यसैले अहिले पाको उमेर भए पनि पढ्ने रहरले मलाई विद्यालयसम्म डोर्‍यायो । लालबहादुर संयुक्त दलित जनजागरण मञ्चका अध्यक्ष समेत हुन् ।
उनीसंगै विद्यालय भर्ना भएका गणेशबहादुर भने– उतिवेला हाम्रा अभिभावकलाई शिक्षाको महत्व नै थाहा थिएन । घरको आर्थिक अवस्था पनि कमजोर थियो । त्यसैले विहेपछि पढाई छोडे । अहिले म आफै कमाउने भएको छु । सानो उमेरमा बीचैमा पढ्न छोड्नु परेको पछुतो थियो, अहिले आएर पुनः विद्यालय भर्ना हुन पाउ“दा निकै खुसी लागेको छ । गणेश घोडाघोडी उद्योग बाणिज्य संघका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार