२५ मंसिर २०८१, मंगलवार

नगर प्रमुखको कार्यकक्षमा आगजनी, बझाङमा गाउँपालिकाको गाडी जलाइयो



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईको कार्यकक्षमा शनिबार राति आगजनी भएको छ । राती नगर प्रमुखको कार्यकक्षमा आगजनी भएकोे नगर प्रमुखको सचिवालय प्रमुख विष्णु खनालले जानकारी दिए ।


उनका अनुसार नगर प्रमुखको कार्यकक्षको झ्यालको सिसा फुटाइएको छ । झ्याल नजिकै एउटा हतौडा र पेट्रोल भरिएका दुईवटा बोतल भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले आगजनी कसले गरेकोबारे खुल्न नसकेको बताए । उनले विद्युत ‘पावर कन्ट्रोल’ बाट आगो निस्केको देखिएको जानकारी दिए । उनले घटनाका बारेमा अनुसन्धान भैरहेको बताए ।
नगर प्रमुख बजगाईले कसैले आफूसंग रिसिईबी साध्न आफनो कार्यकक्षमा आगजनी गरेको हुनसक्ने बताए ।
यसैबीच लम्कीचुहा नगरपालिका, नगर कार्यपालिकाले घटनाको भत्र्सना गरेको छ ।

बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिकाको गाडीमा शनिबार राती देउलेख बजारमा आगजनी भएको छ ।
पार्किङ गरेर राखेको गाडीमा राती आगजनी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आगजनीबाट गाउ“पालिकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
प्रहरीले गाडीमा आगजनी गरेको आशंकामा नेत्रविक्रम चन्द विप्लव नेकपाका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इश्वरीदत्त पाण्डेले घटनामा संलग्न अरुको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार