४ जेष्ठ २०८१, शुक्रबार

डाक्टर खरालद्वारा उम्मेदवारी घोषणा



धनगढी । नेपाल मेडिकल एशोसियसनको आगामी अधिवेशनका लागि डाक्टर पुष्पमणी खरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


एशोसियसनको पुस अन्तिम सातादेखि माघ पहिलो सातामा अधिवेशन हुने छ । शुक्रबार धनगढीमा राष्ट्रिय चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा डाक्टर खरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे ।
उनले भने– सुदूरपश्चिम प्रदेशमा हरेक क्षेत्रमा पछाडी परेको छ । त्यसैले मैले यस क्षेत्रमा आएर उम्मेदवारी घोषणा गरेको हु । तपाई चिकित्सक साथीहरुले मलाई साथ र सहयोग गर्नुहुने छ भन्ने मेरो अपेक्षा छ । उनले चिकित्सकको पेशागत सुरक्षा, श्रमको सम्मान, आम नागरिकको स्वास्थ्यमा सुधार, चिकित्सक र अन्य क्षेत्रको सम्बन्ध सुदृढीकरण गराउननै आफुले उम्मेदवारी दिने घोषणा गरेको बताए ।
उनले ‘अहिले जनता, सरकार र मिडिया चिकित्सकहरुलाई आलोचित बनाइरहेको आरोप लगाए । भने– उपचारका क्रममा कुनै विरामीको मृत्यु भयो भने मिडियाले सम्बन्धीत चिकित्सकसंग कुनै कुरै नगरी एकतर्फी ढंगले समाचार प्रकाशन, प्रसारण गरेको देखिन्छ ।
पटक–पटक स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै आएका खरालले यस पटक प्यानल बनाएर उठ्ने तयारी गरेको प्रतिक्रिया दिए ।


यसअघि कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ‘सुरक्षित पेसा, खुशी चिकित्सक’ नारालाई सफल पार्न प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।
‘प्रदेशमा चिकित्सक अभाव रहेको जहातही हल्ला छ’ मन्त्री सुवेदीले भने– तर, यहाँ यति धेरै चिकित्सकको उपस्थिती देख्दा प्रदेश चिकित्सकमा पनि धनी रहेछ भन्ने लाग्यो । उनले चिकित्सकलाई सुरक्षित र भयरहित वातावरणमा काम गराउन सजग रहेको बताए ।
कार्यक्रममा प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, नीजि क्षेत्रका अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय चिकित्सक संघका महासचिव रमेश ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार