मानसिक हिंसा बृद्धि भइरहेको छ– उपप्रमुख भट्ट
धनगढी । धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पछिल्ला वर्षहरूमा महिलामाथि मानसिक रुपमा हिंसाका घटनामा बृद्धि भइरहेको टिप्पणी गरेकी छिन् ।
उपप्रमुख भट्टले पछिल्ला वर्षहरूमा महिलामाथि शारीरिक हिंसामा केही कम भए पनि मानसिक हिंसामा बढोत्तरी आएको बताइन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा सोमबार आयोजित तीज कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख भट्टले व्यापक सामाजिक जागरण तथा लैंगिक सशक्तिकरण अभियानबाट नै महिलामाथि हुने कुनै पनि प्रकारका मानसिक, शारीरिक हिंसा तथा विभेद रोकथाम गर्न सकिने चर्चा गरिन् ।
“स्थानीय न्यायिक समितिमा रहेर न्याय सम्पादन गरिरहँदा महिलामाथि हुने हिंसा र विभेदको स्वरुप मात्रै बदलिएको अनुभव भयो” धनगढी उपमहानगरपालिका न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख भट्टले भनिन्– कतिपय सन्दर्भमा महिलाका कारण पुरुष समेत हिंसामा परेको देखियो ।
उपप्रमुख भट्टले तीजले दुःख, पीडा, वेदनाका गीतमात्र नभएर समाजमा सकारात्मक प्रभाव पर्ने खालका सन्देश पनि प्रवाह गर्नुपर्ने बताइन् ।
उपमहानगरपालिकाले सबै वडामा तीज कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रम धनगढी उपमहानगरपालिकाको सहयोग तथा न्यू बुद्ध युथ क्लव र राधाकृष्ण महिला समुहको संयुक्त आयोजनामा भएको थियो ।