१० श्रावण २०८१, बिहीबार

‘बालविवाह रोकथाममा अभिभावकको नै मुख्य भूमिका’



टीकापुर । बाल विवाह रोकथामका लागि अभिभावकको नै मुख्य भूमिका रहने सरोकारवालाहरूले दोहोर्‍याएका छन् ।

बाल विवाह न्युनिकरणका लागि सञ्चार अभियान अन्तरगत शनिबार टीकापुरमा आयोजित नगरस्तरीय संवाद कार्यक्रमका सहभागीहरूले बालविवाहले निरन्तरता पाउनुमा अभिभावक नै मुख्य जिम्मेवार रहेको टिप्पणी गरे ।
संवाद कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले अभिभावक र समाजले नै बाल विवाहलाई स्वीकृति दिइरहेकै कारण न्यूनिकरणमा चुनौति भइरहेकोे बताए । उनले भने– जबसम्म समाजले बालविवाहलाई अस्वीकृत गर्दैन, तबसम्म यसलाई निर्मुल पार्न सकिदैन ।
नगर प्रमुख रावलले नगरपालिकाले ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रम अन्तर्गत २० वर्ष उमेरसम्मका छोरीहरूको बैंक खातामा वार्षिक एक हजार रुपैया जम्मा गर्ने निर्णय गरेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख केशरी बिष्टले अभिभावक र समाज सचेत नभएसम्म बाल विवाह न्यूनिकरण कठिन रहेको बताइन् ।
सो अवसरमा टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य, २ का अध्यक्ष प्रकाश बुढा र ८ का अध्यक्ष दिर्घबहादुर ठकुल्लाले बाल विवाहको प्रभावकारी रोकथामका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा बड्घर रामलाल चौधरीले गाउ“घरमा बालविवाह हुदा अभिभावकले नै लुकाउने गरेकोले वालबिवाहले प्रश्रय पाइरहेका बताए ।
बड्घर कट्क थापाले बालविवाह गर्ने अभिभावकलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।
बड्घरहरू तेजुराम थारु, प्रकाश सिंह टमट्टा र जितेन्द्र शाह, सरस्वती मावि बनगाउंका प्रधानाध्यापक खगेन्द्र घर्तिमगर, शक्तिदेवी प्राविका काशिराम ढुंगाना, शिक्षिका शान्ति काफ्ले, दिगो विकास समाजका हिरालाल चौधरी, शिक्षक भिखुराम चौधरी, विजया चपाई, चित्रबहादुर राजी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बाल कल्याण संघका नयन तारा श्रेष्ठ, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख (डिएसपी) मनोहरप्रसाद भट्ट र पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले सहजीकरण गरेका थिए ।
टीकापुर एफएमको सहकार्यमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको कार्यक्रम महासंघ सुदूरपश्चिम प्रदेश महासचिव योगेश रावलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रम संचालन सामुदायिक रेडियो टीकापुर एफएमका स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार