१० श्रावण २०८१, बिहीबार

विभिन्न स्थानबाट अवैध काठ बरामद



धनगढी । प्रहरीले कैलालीका विभिन्न स्थानबाट अवैध काठ बरामद गरेको छ । तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले एक सय ७७ कडी, नौ फ्रेम र पाँच गोलिया काठ बरामद गरेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) दक्षकुमार बस्नेतले गोदावरी नगरपालिका वडा नम्बर ४ चुरे राष्ट्रिय बन क्षेत्रमा चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा एक सय १४ कडी र नौ वटा फ्रेम बरामद गरिएको बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टको नेतृत्वमा रहेको टोलीले मंगलवार राती सो क्षेत्रबाट अवैध काठ बरामद गरिएको जनाइएको छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवाबाट पाँच गोलिया काठ बरामद गरिएको छ । अस्थाई प्रहरी पोस्ट अम्बिका टोलको प्रहरी टोलीले चेकजाँच गर्दा सडक छेउमा बेवारिसे अवस्थामा सिसमका पाँच गोलिया काठ बरामद भएको थियो ।
त्यस्तै, वडा नम्बर १२ जुगेडाबाट ६३ कडी काठ बरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार