१० श्रावण २०८१, बिहीबार

सामुदायिक विद्यालयको पठनपाठनमा सुधार



बाजुरा । सामान्यतयाः सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको पढाई राम्रो मानिने भए पनि बाजुराका केही सामुदायिक विद्यालयको पठनपाठन राम्रो देखिएको छ ।


जिल्लाको बुढीगंगा नगरपालिकामा रहेका सामुदायिक विद्यालयको गुणस्तर राम्रो देखिएको तथ्यांकले देखाएको छ ।
नगरपालिकामा रहेका ३३ वटा सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तरबारे मुल्यांकन गर्ने उद्देश्यले २०७५ सालमा नगरपालिकाले सञ्चालन गरेका कक्षा पा“च र ८ को परीक्षामा संस्थागतभन्दा सामुदायिक विद्यालयको नतिजा राम्रो देखिएको जनाइएको छ । मुल्यांकनमा वडा नम्बर २ मा रहेको बसन्त आधारभूत विद्यालयले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको छ ।
सो विद्यालयले कक्षा पा“च र आठको परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ ।
विद्यालयका प्रधानाध्यापक बहादुर थापाले शिक्षक र विद्यार्थीहरूको मिहिनेतका कारण परीक्षामा उत्कृष्ट नतिजा प्राप्त भएको बताए ।
उनले विद्यालयमा प्रर्दशन, खेल, अवलोकन, छलफल, समूह कार्य विधि लगायतका कक्षा सञ्चालनदेखि सिकाई सहजीकरण गरिने भएकोले पढाईको अवस्थामा सुधार आएको बताए ।
बसन्त आधारभूत विद्यालयमा डिजिटल हाजिरी, अभिलेख हाजिरी र विद्यार्थीसंग हुने दैनिक विद्यार्थी प्रतिवेदन समेत दैनिक तीनवटा हाजिरी लगाउने प्रबन्ध गरिएको छ ।
विद्यार्थी प्रतिवेदनमा शिक्षक कतिवेला आए ?, के पढाए ?, के गृहकार्य दिए र कतिवेला कक्षाबाट गए ? जस्ता अभिलेख रहने व्यवस्था गरिएको विद्यालयका शिक्षक तुला रावतले बताए ।
बसन्त आधारभूत विद्यालयले विद्यार्थीको नियमितता र प्रगतिबारे जानकारी दिन प्रत्येक महिनाको अन्तिम दिनमा आमाभेला गर्दै आएको छ । विद्यार्थीहरुको शैक्षिक गतिविधि बारेमा अभिभावकलाई जानकारी गराइ बालबालिकाहरुमा आउने विविध समस्या समाधानका उपायका बारेमा छलफल गरिने गरिएको छ ।
त्यस्तै, विद्यार्थीका लागि विद्यालयमा नै प्रारम्भिक उपचारको व्यवस्था गरिएको छ । पीसविन बाजुराले विद्यालयका एक शिक्षकलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार