१० श्रावण २०८१, बिहीबार

परीक्षा नदिएरै आयो एसईईको मार्कसिट !



गोकर्ण दयाल/बैतडी । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ? आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर विवाह गरेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ ।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले एसईई परीक्षामा सहभागी नभए पनि करिश्मा चन्दको १.६५ जिपिएको मार्कसिट आएको बताए । करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० “एन” र जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

प्रधानाध्यापक चन्दले भने, “ करिश्मा चन्द कक्षा १० मा भर्ना भएर दुई÷तीन महिना पढेर विद्यालय आउन छोडेकी हुन् । परिवारबाट विवाह गरेर डोटी गएको खबर पाएपछि विद्यालयले एसईई फाराम भरेन । परीक्षामा कतै सहभागि पनि नभएकी करिश्माको अचानक कसरी मार्कसिट आयो ? हामी अचम्ममा परेका छौं ।”

परीक्षा नदिएर पनि छोरीको मार्कसिट आएकोमा बुवा केशवबहादुर चन्दले खुशी हुँदै विद्यालयले मार्कसिट दियो भने छोरीको घरमा पुर्याई दिने बताए । एसईई परीक्षा नदिए पनि मार्कसिट आएको विषयमा करिश्मा चन्दले समेत आश्चर्य प्रकट गरे ।

एसईई परीक्षा नदिएरै करिश्मा चन्दको कसरी मार्कसिट आयो ? भन्ने विषयमा शिक्षा विकास तथा समन्वय ईकाईमा रहेका एसईई दिने विद्यालय र परीक्षार्थीको नामावली खोज्दा शारदा माध्यमिक विद्यालय ढुङ्गाढको फाईलमा करिश्माको नाम भेटिएन । २०७५ सालको एसईई परीक्षामा शारदा माध्यमिक विद्यालयबाट ३४ जना विद्यार्थीले परीक्षामा सहभागि हुन रजिष्ट्रेशन फाराम भरेको पाइएको छ । ती ३४ जना बिद्यार्थी मध्ये करिश्मा चन्दको नाम कही कतै उल्लेख छैन ।

अझै खोजी गर्दै जाँदा करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० “एन” र सोही विद्यालयबाट परीक्षा दिने परीक्षार्थी सरिता लुहारको पनि सिम्बोल नम्बर ०७५११८० “एन” एउटै रहेको फेला परे पनि जन्म मिति भने फरक रहेको छ । सरिता लुहारको रजिष्ट्रेशन फाराममा जन्म मिति २०५७ असार १० गते उल्लेख छ भने करिश्मा चन्दको मार्कसिटमा जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

जिल्ला शिक्षा अधिकारी नरेन्द्रप्रसाद अवस्थी लगायतका कर्मचारीले राष्ट्रिय परीक्षा बोर्डको एसईई परीक्षाको नतिजा हेर्न मिल्ने साईटमा गएर सिम्बोल नम्बर ०७५११८० “एन” टाईप गर्दा करिश्मा चन्द नाम गरेकै विद्यार्थी फेला परेको छ ।

शिक्षा समन्वय अधिकारी नरेन्द्रप्रसाद अवस्थीले सरिता लुहारले मार्कसिट नपाएको भए सरिताकै हुन सक्ने बताए । समन्वय अधिकारी अवस्थीले भने, परीक्षा नै नदिएको विद्यार्थीको कसरी मर्कसिट आयो ? यो त अचम्म भयो । यदि सरिता लुहारले मार्कसिट नपाएको भए करिश्माको नाममा आएको मार्कसिट सरिताको हुनुपर्छ र मार्कसिट पाउन सरिताले निवेदन दिनु पर्छ ।

यो विषयमा शारदामा मावि ढुङ्गाढका प्रधानाध्यापक मीनबहादुर चन्दले सरिता लुहारले नियमित अध्ययन गरेर एसईई परीक्षा दिए पनि मार्कसिट नआएको बताए। गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार