२ जेष्ठ २०८१, बुधबार

दरबन्दीअनुसार डाक्टर खटाउन सरकारसंग आग्रह



डडेल्धुरा । स्थानीय तहका जनप्रतिनिधिले दरबन्दीअनुसार डाक्टर खटाउन संघीय सरकारसंग आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बसेको स्थानीय तहका प्रमुख र जिल्लास्थित सरकारवालाको बैठकले सरकारसंग दरबन्दीअनुसार डाक्टर तथा स्वास्थ्यमर्की खटाउन आग्रह गरेको हो ।
जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ८ मा झाडापाखालाको महामारी भएको तथा जिल्लाका अन्य स्थानमा समेत विभिन्न सरुवा रोग तथा महामारी फैलिन सक्ने संम्भावना रहेको भएपनि जिल्ला विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको बैठकको निष्कर्ष छ ।
जिल्लाका डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल तथा स्वास्थ्य कार्यालय डडेल्धुरा र विभिन्न स्थानीय तहमा कार्यरत डाक्टर तथा स्वास्थकर्मी समायोजनका कारण अन्य स्थानमा रमाना भई गएको तथा जाने क्रममा रहेकाले डाक्टर तथा स्वास्थ्यकर्मीको संख्या दरबन्दीका तुलनामा अत्यन्त कम र कतिपय स्वास्थ्य संस्थामा कुनैपनि स्वास्थ्यकर्मी नरहने अवस्था छ ।
स्वास्थ्यकर्मीहरूलाई तुरुन्त खटाई पठाइदिन स्वास्थ्य तथा मन्त्रालय काठमाडौं र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय धनगढीलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडलले जानकारी दिए ।
समयमै सतर्कता अपनाउन नसकिएको खण्डमा जिल्लाका अन्य स्थानमा समेत महामारी फैलिन सक्ने भएकाले औसधिसहितका डाक्टर तथा स्वास्थ्यकर्मीहरूको प्रभावकारी परिचालन गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालय सामाजिक, प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, डडेल्धुरा र जोगबुडा अस्पताल, स्वास्थ्य कार्यालय डडेल्धुरा र विभिन्न स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्थालाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार