१० श्रावण २०८१, बिहीबार

सञ्चारकर्मीलाई बर्खास्त गरिएको विरोधमा आन्दोलन जारी



डोटी । रेडियो नेपाल, प्रदेश प्रसारण केन्द्र, दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मीलाई अकारण सेवाबाट बर्खास्त गरिएको विरोधमा शनिवार पनि धर्ना कार्यक्रम जारी रह्यो ।
नेपाल पत्रकार महासंघ, डोटीको आह्वानमा सञ्चारकर्मीहरूको पुनर्बहालीको मागसहित शनिबार पनि रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र अगाडी सञ्चारकर्मीहरूले धर्ना दिए । महासंघ, डोटीको आह्वानमा गत विहीबारदेखि आन्दोलन जारी छ ।
शनिबार डोटीका सञ्चारकर्मीहरूले दुबै हातमा कालोपट्टि बा“धेर दिनभरी धर्ना दिए । आन्दोलनरत सञ्चारकर्मीहरूले बिहीबार मुखमा कालोपट्टि बाँधेर तथा शुक्रबार टाउकोमा कालोपट्टि बाँधेर धर्ना दिएका थिए ।
रेडियो नेपालको प्रदेश प्रसारण केन्द्रमा १० वर्षदेखि कार्यरत सुनिता रावल तथा तीन वर्षदेखि कार्यरत प्रकाश बम र चक्र कुवरलाई विना कारण गत सोमबार सेवाबाट बर्खास्त गरिएको थियो ।
सञ्चारकर्मीहरूलाई बिना कारण सेवाबाट बर्खास्त गरिएको विरोधमा महासंघले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापनपत्र समेत बुझाइसकेको छ ।
सञ्चारकर्मीत्रयलाई सेवाबाट बर्खास्त गरिएकोमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, सुदूरपश्चिम प्रदेश समिति, नेपाल प्रेस युनियनको केन्द्र तथा जिल्ला समिति लगायतका संघसंगठनले पनि विरोध जनाइसकेका छन् ।
सञ्चारकर्मी हटाइएको बारे राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि सांसदहरूले सवाल उठाएका छन् ।
यसैबीच, शनिबार नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा बसेका बैठकले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ ।
वैठकले रेडियो नेपाल दीपायलको अगाडी सञ्चार सामग्री प्रदर्शन गर्ने, निस्कासनको विषयमा धर्नास्थलबाट बहस तथा सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने तथा रेडियो नेपालका कार्यकारी प्रमुखलाई एसएमएसमार्फत विरोध पठाउने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार