१० श्रावण २०८१, बिहीबार

मार्तडी–साँफे नयाँ सडकबारे छलफल



बाजुरा । बाजुराको सदरमुकाम मार्तडी जोड्ने एकमात्र मार्ग मार्तडी–साँफे सडक खण्डमा थुप्रै ठाउँमा सडक भासिनुका साथै पहिरो गएपछि नयाँ सडकबारे छलफल शुरु भएको छ ।


बाजुरालाई अन्य जिल्लासंग जोड्ने मार्तडी–साँफे सडकमा यातायात सञ्चालन निकै जोखिमपुर्ढा बन्दै गएपछि वैकल्पिक मार्गका लागि छलफल शुरु भएको जनाइएको छ ।
बाजुरा जिल्ला विपद व्यवस्थापन समितिको बैठकले मार्तडी–साँफे सडकको विकल्पमा नयाँ सडकको पहिचान गरी तत्काल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य सचिव खगेन्द्रबहादुर मल्लले वर्षायाममा मार्तडी–साफे सडकमा यातायात सञ्चालन निकै कठिन हुने गरेका कारण नयाँ सडकको विकल्पबारे छलफल भएको बताए ।
यस वर्षको वर्षाले सो सडकको थुप्र्रै स्थानमा पहिरो जानुका साथै केही ठाउँमा सडक नै भासिएको छ । द्वारी तथा पैमामा हरेक वर्ष आउने पहिरो तथा बुढिगंगा नदीको तीब्र कटानका कारण सो सडकमा अहिले यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले नया“ सडक निर्माण गर्दा व्यक्तिगत घर, तथा जमिन मासिने भएमा सरकारको नियमानुसार मुआब्जा दिने पनि निर्णय गरेको जनाइएको छ ।
बैठकले घरको मूल्याकंनका लागि सहरी आवास तथा भवन निर्माण संघिय कार्यालय तथा जमिनको मुआब्जाका लागि सडक डिभिजन कार्यालय र धान बालीको क्षति विवरण संकलन गर्न कृषि ज्ञान केन्द्रलाई जिम्मेवारी दिने समेत निर्णय भएको सदस्य सचिव मल्लले बताए ।
बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नया“ सडक निर्माण गर्दा सडकको सिमामा पर्ने भवन, जमिन र अन्न बालीको क्षतिको विवरण संकलन गरि अभिलेख राख्ने जिम्मा लिएको बताए । उनले क्षतिपूर्तिको आर्थिक व्यवस्थापन नौ वटै स्थानीय तहले गर्ने निर्णय भएको बताए ।
यसैबीच, शुक्रबार बजेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले पहिरोका कारण उच्च जोखिममा रहेका र क्षति पुगेका घर तथा बस्ती सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको जनाइएको छ ।

झोलुंगे पुलमा आवागमन बन्द

अविरल वर्षापछि बाजुराको त्रिवेणी र बुढिगंगा नगरपालिकाको बीचमा पर्ने ताप्रीसेरामा बुढिगंगा नदीमा बनेको झोलुंगे पुलमा आवागमन बन्द भएको छ ।

भारी वर्षापछि नदीमा पानीको वहावमा बृद्धि भई झोलुंगे पुलमाथि पानी चढेपछि आवागमन बन्द भएको स्थानीयले बताए । सो पुलमा शनिबारदेखि माथिबाट पानी बगिरहेको छ ।
अविरल वर्षाका कारण बाजुराका द्वारी, तिपाडा, अछामको बुढाबगर लगायत ठाउँका झोलुंगे पुल जोखिममा पुगेका छन ।
बुढिगंगा नदीको द्वारीमा बनेको झोलुंगे पुल बगिसकेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार