१० श्रावण २०८१, बिहीबार

तीन लाख नगदसहित सहायक वन अधिकृत डिसी अख्तियारको नियन्त्रणमा



डडेल्धुरा । अख्तियारको टोलीले तीन लाख नगदसहित एक जना सहायक वन अधिकृतलाई समातेको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव–डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो।

विषेश सूचनाका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनका साथबाट ३ लाख २६ हजार नगद बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेछन् र ठेकेदारले पैसा हालिदिएछन्।’ उनले भने, ‘अरु पैसा निकालेर यताउता पारिसकेको रैछ हाम्रो टोलीले ३ लाख २६ हजार बरामद गरेको छ।’

उनकाअनुसार डिएसपीको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई समातेको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइँदै गरेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

सहायक वन अधिकृत डिसी लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिनिन्छन्। बिगतमा भएका वन फडानीका मुद्दामा पनि उनको नाम निकै चर्चामा आउने गरेको थियो। डडेल्धुरामा रहँदा उनले तत्कालिन जिल्ला वन अधिकृत कृष्ण भट्ट माथी कुटपिट समेत गरेका थिए। सहायक वन अधिकृत डिसी लामो समयदेखि डोटी र डडेल्धुरा जिल्लाको राजमार्ग जोडीएका क्षेत्रमा जिम्मेवारी लिएर बसेका छन्।

उनी अन्यत्र सरुवा भएपनि मिलाएर भएपनि यसैक्षेत्रमा बस्दै आउने गरेका थिए। उपभोक्तासंगै काठ तस्करहरु संग काम गरिदिए बाफत रकम अशुल्ने गरेको सूचना पटक–पटक आउने गरेको भएपनि त्यो खबर पुष्टि भने भएको थिएन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार