१० श्रावण २०८१, बिहीबार

हत्या आरोपमा सात जना पक्राउ



बैतडी । गत असार १७ गते बैतडीको दोगडाकेदारको एउटा विद्यालयबाट बेपत्ता भएकी आठ वर्षीया बालिका कलावती सार्की र दशरथचन्द नगरपालिका वडा नम्बर ६, नगतडीका १८ वर्षीय दीपक महरको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
बैतडीको दोगडाकेदार गाउ“पालिका वडा नम्बर २ मल्लाढीकका आठ वर्षीया बालिका कलावतीको हत्या आरोपमा दशरथचन्द नगरपालिका वडा नम्बर ४ का खगेन्द्रराम महरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
कलावती आफ्ना बुवा खडक सार्कीसंगै दशरथचन्द नगरपालिका वडा नम्बर ४, बमरोडामा बस्दै आएकी थिइन् । कलावतीको शव गत ८ गते उनी अध्ययनरत शिव आधारभूत विद्यालय नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो ।
कलावतीका बुवा खडकले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा खगेन्द्रलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पातलीले बताए ।
त्यस्तै, दशरथचन्द नगरपालिका वडा नम्बर ६ नगतडीका दीपकको हत्या गरेको आरोपमा प्रहरीले छ जना पक्राउ गरेको छ । गत १४ गते बैतडीको सदरमुकाम गोठलापानीबाट घर फर्किरहेका दीपकको शव गएको १७ गते दशरथचन्द्र नगरपालिका वडा नम्बर ६, कन्सनीगाड नजिक फेला परेको थियो ।
दीपकका बुवा किसनराम महरले दिएको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ का शंकर चुनारा, अमित रावल, पारस रावल, अनिल रावल, युनिक रावल र मनिष ठगुन्नालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पातलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार