२ जेष्ठ २०८१, बुधबार

सिकलसेलबारे स्वास्थ्यकर्मीहरूसंग अन्तक्र्रिया



धनगढी । पश्चिम नेपालका थारू समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमियाबारे शनिबार धनगढीमा विशेषज्ञ चिकित्सकहरूसंग अन्तक्र्रिया भएको छ ।


धनगढी उपमहानगरपालिकाको संयोजनमा भएको अन्तक्र्रियाका क्रममा चिकित्सकहरूले सिकलसेल एनिमियाका बिरामीले उपचारमा समस्या भोगिरहेको बताए ।
अन्तरक्रियामा प्राध्यापक डाक्टर सुभेषराज कायस्थ, हेमाटोलोजिष्ट डाक्टर विशेष पौडेल, डाक्टर शेरबहादुर कमर लगायतले सिकलसेल एनिमिया रोगबारे गरिएको अनुसन्धान, सम्भावना र चुनौती विषयका अनुसन्धान प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले चिकित्सकहरूको अनुसन्धानमा आधारित रहेर उपमहानगरपालिकाले सिकलसेलका बिरामीको चेकजांच र उपचारको ब्यबस्था गर्ने बताए ।
सो अवसरमा डाक्टर कायस्थले सिकलसेल एनिमियाका बिरामीको चेकजांचका लागि उपकरणको सहज उपलब्धता नरहेको बताए । उनले सिकलसेल एनिमिया रोग भएको वा नभएकोबारे पत्ता लगाउन रगतको चेकजांच गर्न आवश्यक पर्ने एचपीएलसी मेसिनको अभाव रहेको बताए ।
उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले गत आर्थिक वर्ष २०७५÷०७६ मा दुई स्थानमा शिविर राखेर सिकलसेलको निःशुल्क परिक्षणको ब्यबस्था गरिएको बताए ।
सिकलसेल एनिमियाका बिरामीको हेमोग्लोबिन इलेक्ट्रोफोसिस जांचका लागि आवश्यक पर्ने एचपीएलसी मेसिन नहुदा बिरामीको रगत परीक्षणका लागि काठमाडौं पठाउनु पर्ने बाध्यता छ ।
चिकित्सकहरूका अनुसार हाल सेती अञ्चल अस्पतालमा सिकलसेलका एक सय ७३ बिरामी नियमित उपचार गराइरहेका छन् ।
नेपाल सरकारले सिकलसेल एनिमिया रोग लागेको पुष्टि भएका बिरामीहरूको स्वास्थ्य परीक्षण र औषधी उपचारका लागि एक लाख रुपैयांसम्मको आर्थिक सहयोग गर्दै आएको छ ।
चिकित्सकशरूका अनुसार सिकलसेल एनिमिया रोग लागेमा रक्तकोष नोक्सान भएर घट्दै जान्छ । यो रोगको संक्रमणले बच्चाहरूमा पटक–पटक निमोनिया, जन्डिस, रक्तअल्पता, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् ।
त्यस्तै, युवामा पनि पटक–पटक जन्डिस हुने, हाडजोर्नी दुख्ने, पेट दुख्ने, छाती दुख्ने, रक्तअल्पता हुने, थकावट महसुस हुने, ज्वरो आउने, फियो सुन्निने लक्षण देखा पर्छन् । बढी जाडो, गर्मी या तनावमा भएका बेला यस्तो लक्षण देखापर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार