१० श्रावण २०८१, बिहीबार

लक्षित समुह कार्यक्रमबारे विवाद : दलित संघर्ष समितिद्वारा विभिन्न माग प्रस्तुत



सुखड । कैलालीको बर्दगोरिया गाउँपालिकाले बजेटमा लक्षित समुह कार्यक्रम अन्तर्गत दलित समुदायका लागि विनियोजन गरेको रकमबारे दलित संघर्ष समितिले असन्तुष्टि व्यक्त गरेको छ ।

गाउँपालिकाको बजेटमध्ये दलित समुदायका लागि ३० लाख रुपैयाँ विनियोजन गर्न माग गरे पनि कार्यपालिकाले छ लाख रुपैया मात्र रकम विनियोजन गरिने बताएपछि असन्तुष्टि बढ्नुका साथै विवाद सिर्जना भएको थियो ।
गाउ“पालिका स्तरीय दलित संघर्ष समितिले शनिबार गरेको पत्रकार सम्मेलनमा बजेटको बारेमा चर्चा गर्नुभन्दा पनि अन्य माग बारे जानकारी गराइयो ।
दलित संघर्ष समितिले पालिका स्तरिय दलित विकास समिति गठन गर्नु पर्ने, दलित सुमुदायका विद्यार्थीहरूका लागि कक्षा १२ सम्म निःशुल्क तथा प्राविधिक शिक्षाको ब्यवस्था, परम्परागत पेसाको आधुनिकीकरण, कर्मचारी नियुक्तिमा दलित समुदायको न्यायोचित प्रतिनिधित्व, जातीय छुवाछुतको अन्त्य लगायतका माग प्रस्तुत गरेका छन् ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले गाउ“पालिकाले लक्षित समुहका लागि निश्चित रकम विनियोजन गर्ने भए पनि जातीय आधारमा रकम विनियोजन गर्नु उचित नहुने बताए । वडा नम्बर १ का वडाध्यक्ष जयरुप खतिवडाले जातीय आधारमा बजेट विनियोजन उचित नहुने बताए ।
वडा नम्बर ३ का वडाध्यक्ष करने सुनारले स्थानीय सरकार दलित समुदायको हकहित संरक्षणका पक्षमा गम्भीर हुनु पर्ने भए पनि जातीय आधारमा बजेट विनियोजन गलत परिपाटी भएको प्रतिक्रिया दिए । वडाध्यक्ष सुनारले कानुन र बिधिको अधिनमा रहेर अघि बढ्न समेत आग्रह गरे ।
वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौंरा थारुले दलित समुदायको हक अधिकार तथा आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए ।
गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले कुनै पनि समुदायले सोझै रकम माग गर्नुभन्दा पनि बस्ती तथा वडा भेलाबाट आफ्ना योजनाहरू छनौट गरी पालिकामा पठाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार