२ जेष्ठ २०८१, बुधबार

एचआईभी संक्रमण : दश वर्षको अवधिमा १७१ को ज्यान गयो



डिलबहादुर सिंह/डोटी । एचआइभी/एड्सको संक्रमणका कारण पछिल्लो दश वर्षको अवधिमा डोटीमा पौने दुई सय जनाको ज्यान गएको छ ।


जिल्ला अस्पताल डोटीको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा एचआईभीको संक्रमणका कारण एक सय ७१ जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पतालमा एआइभी संक्रमितहरूका लागि एआरटी नामक औषधी वितरणका लागि स्थापना गरिएको शाखामा परामर्शदाता कमलप्रसाद रेग्मीका अनुसार अन्तिम अवस्थामा उपचार गराउन आउने, नियमित रुपमा औषधी सेवन नगर्ने, औषधि सेवनपछि स्वास्थ्यमा सुधार केही हुन थालेपछि औषधि खान छोड्ने लगायतका समस्या रहने गरेको बताए ।
परामर्शदाता रेग्मीले भने– नियमित औषधि खाने एचआईभी संक्रमितहरू २५÷३० वर्षदेखि बा“चिरहेका छन् । नियमित रुपमा औषधी सेवन गर्ने र सन्तुलित खानपानले स्वस्थ मानिस सरह बाच्न सक्छन् । । तर कतिपय संक्रमितले स्वास्थ्यकर्मीहरूलाई समेत धोका दिएर नियमित रुपमा औषधी सेवन नगर्ने गरेका कारण बढी जोखिम हुने गरेको छ ।
डोटीमा हालसम्म नौ सय ९५ जना एचआईभी संक्रमित रहेका छन् । ती मध्ये पांच सय ४८ जना महिला र चार सय ४७ जना पुरुष रहेका छन् ।
पछिल्लो तीन वर्षको तथ्यांक अनुसार डोटीमा एचआईभी संक्रमण दरमा भने कमी आएको देखिएको छ । जिल्ला अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १४ जना महिला र २८ जना पुरुषमा एचआईभी संक्रमण देखिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा १२ महिला र २१ पुरुषमा एआईभीको संक्रमण देखिएको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा १३ महिला र १२ पुरुषमा एआईभी संक्रमण भएको तथ्यांकमा उल्लेख छ ।
एचआईभी संक्रमित रहेका र सामाजिक कार्यमा सक्रिय कटे नेपालीले भने– शुरुका वर्षहरूमा अन्तिम अवस्थामा उपचार गर्न आउनहरूलाई बचाउन निकै कठिनाई हुने गरेको थियो, तर पछिल्ला वर्षहरूमा नियमित औषधी सेवन तथा उचित खानपान र जीवनशैली अपनाउने गरिएका कारण मृत्यु दरमा कमी आएको छ ।
डोटीका विभिन्न गाउँबाट रोजगारीका लागि भारतका विभिन्न शहरमा जानेहरू मध्ये केहीले यौनकर्मीहरूसंग असुरक्षित यौन सम्पर्क गर्ने गरेका कारण एचआईभी संक्रमण हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । यौनकर्मीहरूसंग असुरक्षित यौन सम्पर्कका कारण एचआइभी संक्रमित भएका व्यक्तिका कारण उनका श्रीमती र नवजात छोराछोरीमा समेत संक्रमण हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् ।
डोटी जिल्ला अस्पतालका डाक्टर ग्रिस अवस्थीका अनुसार– विगतको तुलनामा एचआईभी संक्रमितहरूको उपचार हाल सहज हुने गरेको छ ।
डोटीका सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा एचआईभी संक्रमण भए वा नभएको एकिन गर्न रगत परीक्षण सेवा उपलब्ध रहेको छ । संक्रमित गर्भवती आमाबाट बच्चामा हुन सक्ने संभावित एचआईभी संक्रमण रोकथाम गर्ने कार्यक्रम तथा एचआईभी संक्रमितले नियमित सेवन गर्नु पर्ने एआरटी औषधिका लागि जिल्ला अस्पताल डोटीमा एआरटी सेन्टर र विभिन्न दुई स्थानमा वितरण केन्द्र राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार