१० श्रावण २०८१, बिहीबार

बजेट विवादले संसद् बैठक चौथो पटक पनि स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवादका कारण प्रदेश सभाको बैठक चौथो पटक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद्ले संसद् बैठक शुरु हुनासाथ रोष्टम घेराउ गरी नाराबाजी गरेपछि बिहिबारको बैठक पनि स्थगित भएको हो । कांग्रेस र राजपाका सांसद्हरुको विरोधका कारण यस अघि असार ८ र १० गतेको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो भने असार ५ गते कांग्रेस र राजपाका सांसद्हरुले संसद् बैठक शुरु हुनासाथ सभाहलबाट बाहिर निस्केर रातो किताव जलाएपछि स्थगित भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेपछि लगातार बैठक अवरुद्ध हुँदा प्रदेश सरकारको बजेटमाथि छलफल नै हुन सकेको छैन । बजेट पारदर्शी नभएको भन्दै विरोध गरिरहेका प्रतिपक्षी सांसदहरुसित सदन चलाउन सरकारले बुधबार गरेको छलफल निष्कर्ष बिहीन भएको थियो ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले बिहीबार पनि बैठक चल्न नसकेपछि असार १५ गते आइतबार ३ वजेका लागि अर्को बैठक आव्हान गरेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आइतबारसम्म बजेटमा प्रतिपक्षीको सहमति जुट्ने गरी संसद्को बैठक प्रतिपक्षीहरु सहमतिमा सञ्चालन हुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार