१० श्रावण २०८१, बिहीबार

खाद्य अधिकार सम्बन्धी अभिमुखीकरण



बुढीतोला । कैलालीको बुडितोलामा मंगलबारदेखि खाद्य अधिकारको प्रवद्र्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
कार्यक्रमको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरे । फियान र याक नेपालको सहकार्यमा नेपाल पत्रकार महाँसंघ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको छ ।
सो अवसरमा मन्त्री शाहले प्रदेशलाई खाद्यमा आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
उनले प्रदेशको मुख्य लक्ष्य कृषिलाई प्रर्वद्धन गरेर तीन वर्षभित्र सुदूरपश्चिम प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकार काम गरिरहेको बताए । मन्त्री शाहले भने– प्रदेशमा खाद्यान्नमा आयात प्रतिस्थापन गरेर निर्यातलाई बढाउने तिर प्रदेश सरकार गम्भीर छ । सरकार हरेक नागरिकलाई खाद्य अधिकारको प्रत्याभुति दिलाउन प्रतिवद्ध छ ।
मन्त्री शाहले कृषि पेसालाई सम्मानित पेसाका रुपमा विकास गर्न पनि सरकार कटिवद्ध रहेको बताए ।
कार्यक्रममा फियानका महासचिव सत्यराम तोयडाले नेपालका खाद्य अधिकार हनन्को सवाल निकै संवेदनशील रहेको चर्चा गरे ।
महासचिव तोयडाले भने– अहिले नेपालबाट स्वस्थकर खाद्यान्न बाहिर निर्यात भइरहेको र गुणस्तरहीन खाद्यान्न आयात भइरहेको अवस्था छ । अब त शुद्ध खाना खाइयो भने उल्टै बिरामी परिन्छ कि भन्ने अवस्था छ ।
उनले कृषि पेसाप्रति किसानमा बितृष्णा बढेको चर्चा गरे । भने– त्यसैले कृषि पेसालाई मर्यादित बनाउनेतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
कार्यक्रममा बरिष्ठ पत्रकार घन बहादुर शाह, मनमोहन स्वार, माधव धामी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बम, कञ्चनपुर जिल्ला अध्यक्ष बिष्णु अवस्थी, बानका उपमहाँसचिव गोविन्द रोस्यारा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको थियो । महासंघका प्रदेश उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव योगेश रावलले गरेका थिए ।
कार्यक्रममा फियानका निर्देशक अशोक सिंहले नेपालमा खाद्य अधिकारको नीतिगत तथा कानूनी प्रबन्ध तथा पत्रकार मनमोहन स्वारले खाद्य अधिकार प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका बारे प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार