नेतालाई जेल हाल्दैमा थरुहट आन्दोलन रोकिदैन : लक्ष्मण थारु
धनगढी । थरुहट नेता लक्ष्मण थारुले नेतालाई दुई चार वर्ष जेल हाल्दैमा थरुहट आन्दोलन नरोकिने बताएका छन् ।
उनले सरकारले संघर्ष समितिसंग गरेको ५, ६ र १० बुँदे सहमति अनुसार नेपालको संविधानको धारा २७४ र अनुसूचि ४ संशोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । नेता थारु सुदूरपश्चिम प्रदेश मान्य नभएको भन्दै कञ्चनपुरदेखि चितवनसम्मको नौ जिल्लाको एउटा प्रदेश बनाउनुपर्ने बताए । उनले सुदूरपश्चिम प्रदेशले पहाडी सात जिल्ला र कैलाली र कञ्चनपुरका थारुहरुलाई न्याय नमिलेको बताए । उनले तराई र पहाडको समान विकास र समृद्धिका लागि पहाडी जिल्लाको छुट्टै र तराईका जिल्लाका छुट्टै प्रदेश आवश्यक रहेको बताए ।
यिनै माग सहित संघर्ष समितिले आउँदो भदौ ७ गते टीकापुरमा थरुहट विद्रो दिवस बनाउने घोषणा गरेको छ । त्यस दिन टीकापुरमा बृहत आमसभा गर्ने संघर्ष समितिका कैलाली जिल्ला संयोजक माधव चौधरीले बताए । उनले संघर्ष समितिले भदौ ७ लाई थरुहट विद्रोह दिवसको रुपमा मनाउने घोषणा गरेको बताए ।
संघर्ष समितिले संशोधन नभएसम्म संविधान समेत अमान्य रहेको भन्दै आउँदो कात्तिक ३ गते संविधान जलाउने र च्यात्ने आन्दोलनको कार्यक्रमम समेत घोषणा गरेको छ । थरुहट नेता थारुले आफूले अधिकार प्राप्तिका आन्दोलन गरिरहेकाले कुनै समुदाय विचलिन हुन नहुने बताए । उनले राज्यले आफूहरुको शान्तिपूर्ण आन्दोलन दमन गरेमा प्रतिकार समेत गर्ने बताए ।
संघर्ष समितिका केन्द्रीय सल्लाहकार तथा पूर्व सभासद् कृष्णकुमार चौधरीले राज्यले थरुहटको माग सम्वोधन गर्नुको सत्ता दमन गरेको बताए । उनले थरुहट नेता तथा सांसद् रेशम चौधरीलाई हालसम्म जेलमा राख्नुमा राज्यको ठूलो षड्यन्त्र रहेको बताए ।