२ जेष्ठ २०८१, बुधबार

स्वास्थ्य प्रर्वद्धन रणनिति निर्माण गर्न सुझाव संकलन



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको स्वास्थ्य प्रर्वद्धन रणनिति निर्माण गर्न सुझाव संकलन गर्नुका साथै मस्यौदा समिति गठन गरेको छ ।

मन्त्रालयले दीगो विकास लक्ष्य २०३० प्राप्तिका लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रवद्र्धन रणनीति निर्माण कार्यशाला आयोजना गरी सुझाव संकलन गर्नुका साथै कार्यशालाबाटै मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत तथा सूचना अधिकारी हेमराज खड्काको संयोजकत्वमा समिति गठन गरेको हो । वरिष्ठ स्वास्थ्यविद डा. लक्ष्मीराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्त, प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेल, युएनएफपिएका प्राविधिक निलकण्ठ गौतम, युनिसेफवाट प्रकाशचन्द्र जोशी र सुआहारवाट लोकेन्द्र थापा गरी सात सदस्यीय समिति गठन भएको छ ।
दुई दिने कार्यशालामा विद्यमान शिक्षा तथा स्वास्थ्यको अवस्थाका आधारमा दिगो विकास लक्ष्य २०३० प्राप्तीमा थुप्रै चुनौती रहेको बिज्ञहरूले औंल्याएका छन् ।
विज्ञहरूका अनुसार मानव विकास सूचाकांकमा देशका सात प्रदेशमध्ये छैठौं स्थानमा रहेको सुदूरपश्चिम प्रदेशमा सरकारले जनस्वास्थ्य सुधारलाई अझैं मुख्य प्राथमिकतामा राखिएको छैन । यसले दीगो विकास लक्ष्य प्राप्तीमा चुनौति थपिएको उनीहरूले औल्याएका छन् ।
कार्यशालाका सहभागी बिज्ञहरूले प्रदेशको स्वास्थ्यमा सुधार ल्याउन नीति निर्माणले मात्रै नपुग्ने बताए । प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्न लगानीले मात्रै नपुग्ने भएकाले लगानी संगै मानवीय सोचमा पनि परिवर्तन गराउन आवश्यक रहेको उनीहरूले बताए ।

पोखरा विश्वबिद्यालयका प्राध्यापक डा. तुलसीराम भण्डारीले वर्तमान अवस्थाका आधारमा सुदूरपश्चिम प्रदेशलाई दिगो विकास लक्ष्यमा पुग्न चुनौती रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा विद्यमान सााजिक, सांस्कृतिक कुरिती तथा कुसंस्कार अन्त्य गर्न शिक्षासंगै बिकट क्षेत्रमा स्वास्थ्यको पहुँच पुर्याउन सके मात्र दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर रणबहादूर रावलले स्वास्थ्य क्षेत्रको अध्ययन गर्न महंगो शुल्क लाग्ने हुँदा स्वास्थ्यकर्मीले जनताको सेवालाई भन्दा पैसा कमाउनमा लाग्ने भएकाले गाउँ गाउँमा डाक्टर समेत जान नमान्ने गरेको बताए ।
सो अवसरमा नेकपाका प्रदेश सभा सदस्य महेशदत्त जोशीले स्वास्थ्य क्षेत्रको सुधारका लागि खानपानमा ध्यान दिन जरुरी रहेको बताए । आफुले उत्पादन गरेको खानेकुरा भन्दा बजारबाट खरिद गरेको खानेकुरा खाने परिपाटी बढ्दा सानैबाट स्वास्थ्यमा समस्या देखिने गरेको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवाको क्षेत्रमा अझैं निकै पछाडी रहेकाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारलाई मुख्य प्राथमिकतामा राखेको बताए । मन्त्री सु्वेदीले बिज्ञ समुहको सल्लाहबाट नै प्रदेशको स्वास्थ्य अवस्था सुधार गरिने उनले बताए । उनले सुझाव अनुसार नै मन्त्रालयले वास्थ्य प्रवद्र्धन रणनीति नीति बनाउने प्रतिवद्धता जनाए ।

दीगो विकास लक्ष्यसहितको सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रवद्र्धन रणनीतिवारे स्वास्थ्य शिक्षा विज्ञ डा. चेतराज पन्त, पोखरा विश्वविद्यालयका प्राध्यापक डा. तुल्सीराम भण्डारी, राष्ट्रिय स्वास्थ्य शिक्षा केन्द्रका डा. भक्तवहादुर केसी, आइईएमका डा. लक्ष्मीराज जोशीलगायले स्वास्थ्यका समस्या, चूनौति र सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक गुणराज अवस्थी, वरिष्ठ जनस्वास्थ्य अधिकृतहरुले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको प्रबद्र्धनका रणनीति बनाउन विभिन्न सुझाव दिएका थिए ।
कार्यशालामा सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद् तथा स्थानीय सरकारका जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका विज्ञहरु, कानूनविद, सञ्चारकर्मीलगायतले स्वस्थ्य रणनीति निर्माणका लागि सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार