१० श्रावण २०८१, बिहीबार

सार्वजनिक शौचालयमा तालाबन्दी



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा एउटा मात्रै २ कोठे सार्वजनिक शौचालय छ तर दुबै ढोकामा ताला लगाईएको छ ।


ताला लगाईएसंगै हाल उक्त शौचालय प्रयोगबिहिन जस्तै बनेको छ । दरख सुख्ड खानेपानी तथा सरसफाई उपभोक्ता समितीले २०७३ सालमा उक्त शौचालय निर्माण गरेको थियो ।
निर्माण लगत्तै केही वर्ष सञ्चालन भएपनि केही सयम यता शौचालय प्रयोग बिहिन बनेको हो । शौच गर्न शौचालय पुग्ने मानिसहरु त्यत्तीकै फर्किनु पर्ने बाध्यता रहेको स्थानीहरुको गुनासो छ । शौचालयका २ कोठा मध्ये एउटामा वडा कार्यालयले र अर्कोमा स्थानीय ब्यापारीहरुले ताला लगाएको बुझिएको छ । तर वडा कार्यालयले भने दुबै कोठामा आफैले ताला लगाएको दाबि गरेको छ ।
शौचालय खुल्ला गर्दा जथाभावी फोहर गर्ने परिपाटीले दुर्गन्ध फैलिएकाले ताला लगाउनु परेको वडा अध्यक्ष हरि राज बिष्टले बताए । शौचालय खुल्ला गर्दा स्थानीय ब्यापारीहरुले शौच गर्ने मात्र नभई नुहाउने, कपडा धुने लगायतका कार्यहरुमा मनपरी गर्ने गरेकाले फोहर हुने गरेको स्थानीय ललित जोशीले बताए । उनले भने ‘खुल्ला गर्दा फोहरको समस्या हुन्छ भने नगर्दा शौचको समस्या हुन्छ ।’
यस बिषयमा आफुलाई कुनै जानकारी नभएको खानेपानीका अध्यक्ष निरज कुमार मल्लले बताए । यस बारेमा बुझेर केही दिनमा सरसफाईको लागि कामदारको ब्यवस्थापन गरी जिम्मा दिने समेत उनले जानकारी दिए ।
उक्त शौचालयको सरसफाई र ब्यवस्थापनको लागि खानेपानीले कामदार राख्ने भने पनि हाल सम्म कामदारको ब्यवस्थापन हुन सकेको छैन । यता वडा अध्यक्ष बिष्टले भने ट्राफिक रिफ्रेसिङ सेन्टरको निर्माण कार्य भईरहेकाले रिफ्रेसिङ सेन्टरका सञ्चालन संगै शौचालय समेत सञ्चालन गर्ने बताए । कामदार राखेर उचित ब्यवस्थापनको साथ अघि बढ्ने वडा कार्यालयको समेत योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार