१० श्रावण २०८१, बिहीबार

सडक मिच्नेका घर भत्काइदै



धनगढी । सडक क्षेत्र भित्र पर्ने संरचना आफै भत्काउने घर धनीलाई सम्मान गर्ने योजना बोकेको धनगढी उप–महानगरपालिकाले अटेरी गरि निर्माणमा अवरोध गर्नेका बिरुद्ध कडा रुपले उत्रिएको छ ।
बिहीबार मात्रै धनगढी उप–महानगरपालिका ३ भन्सारस्थित दुईवटा घर र पर्खाल डोजर प्रयोग गरेर भत्काईएको छ ।
सडक क्षेत्र भित्र रहेका निजी संरचना भत्काउन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, वडा नं ३ का वडा अध्यक्ष बलबहादुर ऐर लगायत वडाका जनप्रतिनिधीहरु स्वयं उपस्थीत भएका थिए ।
सडक क्षेत्र कब्जा गरेर बनाएका निजी संरचना हटाउन हामीले पटक–पटक अनुरोध गर्दा पनि अटेरी गरेका कारण आफुहरुले कठोर निर्णय लिनु परेको नगर प्रमुख वडले बताए । उप–महानगरपालिकाको अनुरोधलाई कमजोरीको रुपमा लिएर सडक क्षेत्र भित्र रहेका संरचना नहटाउनेका बिरुद्ध कडा रुपले प्रस्तुत हुने पनि नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले भन्सारस्थित चक्रपथ निर्माणमा अवरोध गर्ने स्थानीय गोकर्ण पौडेलको घर र पर्खाल डोजरको प्रयोग गरेर भत्काएको बताए । त्यसैगरी बुधवार नै त्रिनगर भन्सार कार्यालयको चेकजाँच भवनको आधाभाग त्यहाँका प्रमुखको स्वीकृतीमा भत्काईएको वडा अध्यक्ष ऐरले बताए ।
‘सडक क्षेत्रमा घर र पर्खाल लगाएर निर्माण कार्यमा अवरोध गर्ने गोकर्ण पौडलको घरमा डोजर लगाउनु उप–महानगरपालिकाको बाध्यता हो’ वडा अध्यक्ष ऐरले भने, ‘उनलाई पटकपटक अनुरोध गर्दा पनि अटेरी गरेकाले वल प्रयोग गर्नु परेको हो ।’ पौडेल राजाको प्रत्यक्ष शासनकालमा वडा नं ३ का वडा अध्यक्ष पनि हुन । स्थानीय तहको जनप्रतिनिधी भैसकेका ब्यक्तिले विकासमा अवरोध गर्नुले त्यसको गलत सन्देश सबैतिर गएको थियो वडा अध्यक्ष ऐरले भने, हामीलाई आफै भत्काउन बाध्य पारियो ।
यस अघि निर्माणाधिन धनगढी अत्तरीया ६ लेन सडक क्षेत्रभित्र रहेका संरचना हटाउन अटेरी गर्नेका घर पर्खालहरु नगर प्रमुख वडले आफै डोजरमा चढेर भत्काएका थिए । धनगढी उप–महानगरपालिकाका बिभिन्न ठाउँमा निजी संरचना बनाएर निर्माणको काममा अवरोध गर्नेहरु अहिले पनि धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार