१० श्रावण २०८१, बिहीबार

दलितलाई उच्च प्राथमिकतामा राखेर आर्थिक मुल प्रवाहमा ल्याउँछौः अर्थमन्त्री बोहरा



धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले विभेद तथा छुवाछुत अन्त्य गर्ने खालको नीति तथा कार्यक्रम र बजेट आउने बताएका छन् ।
राष्ट्रिय दलित नेटवर्कले बिहिबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय दलित मैत्री नीति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री बोहराले दलित समुदायलाई ओझलमा नपार्ने बताएका हुन् । उनले दलित समुदायलाई उच्च प्राथमिकतामा राखेर सामाजिक न्यायको परिधिमा ल्याउने बताए । उनले भने, ‘तपाईहरुलाई उच्च प्राथमिकतामा राखेर आर्थिक मुल प्रवाहमा ल्याएर सामाजिक रुपान्तरण गर्ने खालको नीति तथा कार्यक्रम ल्याउछौ ।’
मन्त्री बोहराले स्पष्ट रुपमा जातीय छुवाछुत र विभेद अन्त्य गर्ने भनेर बजेट सिद्धान्त, उद्देश्य र प्राथमिकतामा समेतेको जानकारी दिदैं प्रदेशको नीति तथा कार्यक्रममा पनि समावेश गर्ने बताए । उनले सामाजिक रुपान्तरणका लागि दलित समुदाय मुद्दामा विशेष बजेटको व्यवस्था समेत गर्ने प्रतिबद्धता जनाए । ‘प्रदेश सरकारले दलितलाई दलित नभनेर सम्मानित जीवनयापन गर्नका लागि कानुनी र नीतिगत व्यवस्था गर्छ,’ अर्थमन्त्री बोहराले भने, ‘यसमा तपाईहरु ढुक्क रहनुस् । हामी प्रतिबद्ध छु ।’
मुलुक आर्थिक समृद्धितिर लम्किरहेको बेला जातीय छुवाछुत गर्ने, विभेद गर्नेहरु राजनीति पार्टी र नेता हुनै नसक्ने उनले बताए । उनले जातीय छुवाछुतको उन्मुलन गर्न अत्यन्त जरुरी रहेको बताउँदै सबै मिलेर लागे यो कार्यपनि सम्भव रहेको बताए ।
कार्यक्रममा अर्थविद हिरा विश्वकर्माले नेपालको संघीय तथा प्रादेशिक बजेटमा दलितका चासो, चिन्ता तथा अवसरका बारेमा प्रस्तुती रहेका थिए । उनले मुलुकमा दलित समुदायका लागि विभिन्न कालखण्डमा ल्याइएको कार्यक्रमको समिक्षा समेत गरेका थिए ।
नेटवर्कका राष्ट्रिय अध्यक्ष गणेश विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु शान्ति नेपाली, अर्चना गहतराज, महान्यायाधिवक्ता कुलानन्द उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगमा निर्देशक झंकर रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार