१० श्रावण २०८१, बिहीबार

जनअपेक्षा अनुसार काम गर्न सकिएको छैन: मुख्यमन्त्री भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरका छन् ।

लम्कीचुहा नगरपालिकाको आइतबार शुरु भएको चौथो नगर सभा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कानुन र कर्मचारी अभावका कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताएका हुन् । उनले जनताले प्रदेश र स्थानीय सरकारको कामको परिणाम खोजिरहेका बताए ।
मुख्यमन्त्री भट्टले जनताको सबै भन्दा नजिकको स्थानीय सरकारले गम्भीर ढंगले काम गर्नुपर्ने बताए । ‘तीन वटै सरकार अधिकार सम्पन्न छन् । सबैलाई कानुन निर्माण गर्ने अधिकार छ ।’ उनले भने, ‘जिम्मेवारी तीनै तहको महत्वपूर्ण छ । प्रदेशको प्रवेशद्वार भएकाले लक्कीचुहाले नुमुना काम गर्नुपर्छ ।’
उनले क्षमता र आवश्यकता अनुसार सहि ढंगले कार्यान्वयन गर्ने गरेर योजना ल्याउनुपर्ने पनि बताए । ‘अल्पकालीन, दीर्घकालीन र मध्यकालीन योजना बनाएर काम गर्नुपर्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘विकासका योजना बनाउँदा आवश्यकता अनुसार मात्रै बनाउन जरुरी छ । पहु“च र निकटताका आधारमा होइन आवश्यकताका आधारमा विकास योजना बनाउनुपर्छ ।’
खरिद ऐनले तीनै तहका सरकारलाई काम गर्न कठिनाई भएको बताउँदै मुख्यमन्त्री भट्टले संघीय सरकारले छिट्टै सशोधन गर्नुपर्ने बताए । उनले लम्कीचुहा नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको सर्किट बनाउनु पर्ने समेत बताए । ‘स्थानीय र प्रदेश सरकारको सहकार्यमा काम गर्न तयार छ,’ मुख्यमन्त्री भट्टले भने, ‘चिसापानी–कर्णाली क्षेत्रको विकासमा पनि सहकार्य गरेर लाग्नु पर्छ ।’
मुख्यमन्त्री भट्टले सुशासन स्थापनाको लागि भ्रष्टाचार विरुद्ध जनप्रतिनिधी लाग्नुपर्ने बताए । भ्रष्टाचार न्युनिकरणका लागि जनप्रतिनिधीले आवाज उठाए मात्र सुशासन आउने भट्टले बताए । जनताले सिंहदरबारको महसुस गर्ने गरी जनप्रतिनिधीले काम गर्नुपर्ने भन्दै सुदूरपश्चिमा विकासका धेरै सम्भावना रहेकोले बिकेन्द्रिकृत सोच हटाई विकासका मामिलामा सबै एक हुनुपर्नेमा जोड दिए ।
विकासको मेरुदण्ड कृषि भएकोले वैज्ञानिक कृषि विकास गरी सुदुरपश्चिमको विकास गर्न सकिने भन्दै कृषकको सम्मान नगरे सम्म कृषि पेशा अगाडि बढ्न नसक्ने उनले बताए । किसान खेतमा भएको बेलामा असारमा विकासका काम गर्ने प्रथा अन्त्य गर्नुपर्छ र समयमै काम सम्पन्न गर्नेगरी योजना बनाई कामको थालनी गर्नुपर्छ । आवश्यक्ता र जनताको मागको आधारमा योजना छनौट गरिनुपर्छ । योजना विकास मुखी हुनुपर्छ भन्दै अन्धाधुन्द योजना नबनाउन मन्त्री भट्टले सचेत गराए ।
छुवाछुतको प्रथा समाजमा अहिले पनि रहेकोले छुवाछुत अन्त्यको लागि जनप्रतिनिधीले अभियान संचालन गर्नुपर्ने मुख्यमन्त्री भट्टले बताए । परिवर्तनको सुरुवात जनप्रतिनिधीबाटै हुनुपर्ने भन्दै उनले आवश्यक कानुन नहुदा काम गर्न कठिनाई बताए ।
कैलाली क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य नन्द बहादुर साउँदको उपस्थिति रहेको नगर सभामा मुख्यमन्त्री भट्टलाई १५ बँुदे माग सहित १५ किलोको मालाले स्वागत गरिएको थियो ।
लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाइँले दुई वटा विधेयक पारित गर्ने नगर सभाकाले कार्यसूचि प्रस्तुत गरेका थिए । प्रस्तुत कार्य सूचि अनुसार लम्कीचुहाको नगर सभाले न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र लम्कीचुहा नगरपालिका विपद जोखिम न्यनियकरण तथा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित हुने छ ।
नगर सभाले लम्कीचुहा नगरपालिकाको योजना तथा कार्यक्रम संशोधन गर्ने, बजेट रकमान्तर गर्ने, कार्यपालिकाले गरेका निर्णयहरुको समर्थन गर्ने र लेखा समिति गठन गर्ने सम्बन्धमा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार