प्रहरीविरुद्ध मुद्दा दायर
बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाईबाट ज्यान गएको भन्दै पाँच जना प्रहरी बिरुद्ध मुद्दा दायर गरिएको छ ।
ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरक्षक अशोक बहादुर पालको नेतृत्वका खटिएको प्रहरी टोलीले वैशाख ३० गते राती पन्तलाई उनकै घरमा निर्घात कुटपिट गरेका कारण मृत्यु भएको आफन्तको आरोप छ ।
प्रहरीले नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएको बताइएको छ । मृतक कमलाकान्तका कान्छा छोरा प्रकाश कुमारले पाँच जना प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् । मृतकका छोरा प्रकाशले इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक पाल, ज्ञानसिहं धामी, टुकराम राना, दानसिंह भण्डारी र भुपेन्द्र महरा विरुद्ध किटानी जाहेरी दिएका छन् ।
मृतक कमलाकान्तका ४० वर्षीय छोरा लवदेवको सोमबार राती स्थानिय बजारका पसले शान्ति पन्तसंग मदिरा सेवन गर्दा सामान्य बिवाद भएको थियो । पसल मालिक शान्तीले ईलाका प्रहरी कार्यालय पाटनलाई खबर गरेपछि लवदेवलाई पक्राउ गर्न प्रहरी नायब निरक्षक पालसहितको पाँच जनाको टोली राती १२ बजे उनको घर पुगेको मृतकका आफन्त हरिदत्त पन्तले जानकारी दिए ।
उनले प्रहरी टोलीले मदिरा सेवन गरेको र लवदेवलाई सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा कमलाकान्तले रोक्ने प्रयास गरेपछि प्रहरीले कुटपिट गरेको बताए । प्रहरीको कुटपिटपछि छोरा लवदेवलाई पक्राउ गरेको र दोस्रो बिहान कमलाकान्त मृत अवस्थामा भेटिएको स्थानीयले बताए ।