१८ आश्विन २०८१, शुक्रबार

वडा कार्यालयमा तालाबन्दी खुल्यो



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालयमा लगाइएको ताला दुई दिनपछि खोलिएको छ ।
मानबहादुर बिष्टको नेतृत्वमा स्थानीयले मंगलबार वडा कार्यालयको सेवा प्रभावकारी नभएको भन्दै तालाबन्दी गरेका थिए ।
स्थानीयले तालाबन्दी गरेपछि वडामा सेवा लिन गएका सेवाग्राहीलाई समस्या भएपछि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडको उपस्थितिमा सरोकारवालाहरूसंग बुधबार छलफल गरिएको थियो ।
बुधबार भएको छलफलपछि वडा कार्यालयले सार्वजनिक महत्वका सूचनाहरू वडाभरी जानकारी हुने गरि प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । यस्तै, धनगढी उपमहानगरपालिकाले अमिनसहितको एक जना सहजकर्ताको व्यवस्था गरि मालपोत रकम वडा कार्यालयबाटै संकलन गर्ने व्यवस्था गर्ने प्रतिवद्धता गरेको थियो ।
वडा कार्यालयले स्थानीयहरूसंग कुनै छलफलनै नगरी वडा नम्बर १४ को ‘एच’ गाउँमा प्रसुति गृह स्थापना गर्ने निर्णयसहित निर्माण कार्य शुरु गरेको थियो । प्रसुति गृह निर्माणका लागि वडा अध्यक्ष एकलौटी निर्णय गरेपछि स्थानीयहरू थप आक्रोसित भएका थिए ।
बैठकले ‘विवाद समाधान हुने गरी उक्त प्रसुति गृह निर्माण समिति समेत बनाउने र निर्माण कार्य अगाडी बढाउने’ निर्णय गरेको थियो । यस्तै सो छलफलले वडाभित्र अतिक्रमणमा रहेका सार्वजनिक जग्गाहरू हटाउने र वडा नम्बर १४ मा प्रहरी चौकीको स्थापना गर्ने निर्णय गरेको थियो ।
बैठकमा वडा अध्यक्ष रामबजारी चौधरी, स्थानीय राजनीतिक दलका प्रतिनिधी, युवा नेता, सामुदायिक वनका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार