१० श्रावण २०८१, बिहीबार

दार्चुलाको खलंगा बल्ल राष्ट्रिय प्रसारणसंग जोडियो



धनगढी । सुदूरपश्चिम प्रदेशको विकट जिल्ला दार्चुलाको सदरमुकाम खलंगा बल्ल विद्युतको राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ ।
नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम क्षेत्रीय कार्यालय अत्तरियाले बुधबारदेखि दाचुर्लाको सदरमुकाम खलंगामा ११ केभीको सवस्टेशनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडेको जनाएको छ । दार्चुलाको गोकुलेश्वरदेखि खलंगासम्मको २५ किलोमिटर बाटोमा ३३ केभीको प्रसारण लाईन समेत विस्तार गरि खलंगालाई राष्ट्रिय प्रसारण लाइनसंग जोडिएको प्राधिकरणका क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले बताए ।
क्षेत्रीय कार्यालयले बुधबार अत्तरियामा पत्रकार सम्मेलन आयोजना गरी छ करोड ८९ लाख २३ हजार ६ सय ८५ रुपैयाँको लागतमा ११ केभीको सवस्टेशन र ८७ लाख ४९ हजार आठ सय १६ रुपैयाँको लागतमा २५ किलोमिटर ३३ केभीको प्रसारण लाईन विस्तार गरेको जानकारी दिएको छ ।
यसअघि दार्चुलामा भारतको लालीबाट एक सय, जोलजिविबाट छ सय र हुटीबाट एक सय किलोवाट विद्युत आपुर्ति गरिदै आएको थियो । दार्चुलाको हालको विद्युत माग सात सय किलोवाट छ भने एक सय ५४ थान विद्युत ट्रान्सफर्मर जोडेर सात हजार आठ सय ६१ परिवारलाई विद्युत आपूर्ति गरिएको प्रमुख कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार