१० श्रावण २०८१, बिहीबार

स्थानीय तहको सञ्चार नीति सम्बन्धी छलफल



बुढीतोला । स्थानीय तहको सञ्चार नीति सम्बन्धी प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको सो कार्यक्रम गोदावरी–४, बुढीतोलामा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीले स्थानीय तहले सञ्चार नीति बनाउदा पत्रकार र सञ्चार माध्यमलाई प्रतिबन्ध लगाउने खालका बनाउन नहुने बताए । उनीहरुले स्थानीय पत्रकार र सञ्चार माध्यमको विकासमा सहयोग पुग्ने गरी स्थानीय तहहरुले सञ्चार नीति बनाउनुपर्ने बताए । उनीहरुले सञ्चार नीतिले स्थानीय तहहरुको विकास र गतिविधिमा पत्रकार र सञ्चार माध्यमहरुले सहयोग गर्न सक्ने गरी नीति बनाउनु पर्ने बताए ।
गोदावारीको वडा नं. ४ का अध्यक्ष तथा नगर कार्यपालिकाका विधायन समिति संयोजक प्रेमबहादुर भण्डारीले पत्रकारले स्थानीय तहका राम्रा र नराम्रा दुबै पक्षको बारेमा समाचार सम्प्रेषण गर्नुपर्ने बताए । यसले गर्दा स्थानीय तहहरुलाई कमकमजोरी सच्याउँदै विकास र समृद्धिका लागि काम गर्ने प्रेरणा मिल्ने बताए ।
पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासघका पूर्वकेन्द्रीय सदस्य दिलबहादुर छत्याल, पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष भरत शाह, कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मण तिवारी, कैलालीका अध्यक्ष जगत साउँद, कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी, वानका उपमहासचिव गोविन्द रोस्यारा लगायतले स्थानीय तहको सञ्चार नीति सम्बन्धी धारणा राखेका थिए । महासचिव योगेश रावलले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघका प्रदेश समितिका पदाधिकारी तथा सदस्य लगायत सुदूरपश्चिमका नौ जिल्लाका पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार