१० श्रावण २०८१, बिहीबार

पत्रकार महासंघको प्रथम प्रदेश साधारण सभाको मिति तय



बुढीतोला । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभाको मिति तय भएको छ ।


प्रदेश समितिको आइतबार गोदावरी नगरपालिका–३, बुढीतोलामा बसेको बैठकले असार ५ र ६ गते बैतडीमा प्रथम साधारणसभा गर्ने निर्णय गरेको हो । प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले प्रदेश समिति, प्रदेश पार्षदहरु, जिल्ला शाखाहरुका पदाधिकारी समेत सहभागी हुने गरी बृहत रुपमा प्रदेशको प्रथम साधारण सभा गर्ने बताए ।
प्रदेश समितिको बैठकले केन्द्रीय समितिको सर्कुलर अनुसार बैशाख अन्तिमसम्म प्रदेश सबै सदस्यहरुलाई सदस्यता नविकरण गर्न अनुरोध पनि गरेको छ । केन्द्रीय समितिले बैशाख ३१ गतेभित्र दुई वर्षसम्मको सदस्यता नविकरण नगर्ने सदस्यको सदस्यता खारेज हुने र त्यसपछि परेका निवेदनमाथि कुनै सुनुवाई नहुने भनि सबै जिल्ला र प्रदेश समितिलाई सर्कुलर पठाएको छ । यसैगरी, निस्क्रिय भएका सदस्यहरुको सदस्यता नविकरण नगर्न र नगराउन समेत सर्कुलरमा उल्लेख छ ।
प्रदेश समितिले प्रदेशका नौ वटै जिल्ला शाखाहरुलाई नविकरण भएका डकुमेन्ट जेठ ७ गतेभित्र प्रदेश समितिमा पठाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
यसका साथै प्रदेश समितिको बैठकले मिडिया काउन्सिल सम्बन्धी विधेयक २०७६ को विरोधमा घोषणा गरेको आन्दोलनलाई सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश समितिले प्रदेशका सबै पत्रकारहरुलाई सम्बन्धित जिल्ला शाखाले आयोजना गर्ने आन्दोलनको कार्यक्रममा सक्रियताका साथ सहभागी हुन आम पत्रकारहरुलाई आव्हान गरेको छ ।
प्रदेश समितिले प्रदेशका सबै सदस्यहरुको वैयक्तिक विवरण (पर्सनल प्रोफाइल) र सञ्चार माध्यमहरुको विस्तृत विवरण (मिडिया प्रोफाइल) तयार गर्ने फाराम समेत स्वीकृत गरी सो विवरण लिने कार्यलाई जिल्ला शाखाहरु मार्फत् तत्काल अगाडि बढाउने निर्णय गरेको छ । प्रदेश समितिको बैठकमा कैलाली कञ्चनपुरमा कार्यरत अग्रज पत्रकार र जिल्ला अध्यक्षहरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार